काठमाडौँ । नेपाल विद्युत प्राधिकरण ५ अर्ब बढी सञ्चित नोक्सानीमा देखिएको छ । प्राधिकरणले तयार गरेको श्वेतपत्र अनुसार प्राधिकरणको कुल सञ्चित घाटा ५ अर्ब २६ करोड रुपैयाँ देखाइएको छ ।
यसअघि प्राधिकरण विगत ८ वर्षदेखि निरन्तर नाफामा रहेको दाबी गरिएको थियो । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा चालु आर्थिक वर्ष २०८०/८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रहेको बताइएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणको नाफा ९ अर्ब ४८ करोड देखाइएको छ ।
तर, कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको प्राधिकरणको श्वेतपत्रमा उल्लेख छ ।
अर्कोतर्फ प्राधिकरणले तयार पारेको उक्त श्वेतपत्रमा विद्युत प्राधिकरणको ऋण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण रहेको उल्लेख गरिएको छ । जसमध्ये आन्तरिक स्रोततर्फको ऋण ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायतर्फको १ खर्ब ७१ अर्ब ४ करोड देखिन्छ । त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न बाँकी रकम ११ अर्ब ६१ करोड रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
उक्त श्वेतपत्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार नै सार्वजनिक गर्ने भने पनि प्राविधिक कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित गरिएको छ ।