काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्न अयोग्य भएको भन्दै दायर गरिएको पूरक निवेदन अस्वीकार गरेको छ । न्यायाधीश तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो ।
राष्ट्र बैंकको गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा बैशाख ५ गते पूरक निवेदन दर्ता गराएका थिए ।
तर, सर्वोच्च प्रशासनले उक्त पूरक निवेदन दर्ता गरे पनि इजलासले भने पूरक निवेदन अस्वीकार छ । यसो त यसअघि अधिवक्ताद्वय थापा र उप्रेतीले गभर्नरको उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही बीचमा राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउने सहमति भएको खबर बाहिरिएको थियो । त्यसपछि भट्टले राष्ट्र बैंकबाट राजिनामा दिएका थिए । तर, गभर्नर बन्न योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध अधिवक्ताद्वय थापा र उप्रेतीले पूरक निवेदन दर्ता गराएका थिए ।