काठमाडौँ । प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारी गरेको जनता टेलिभिजनले आफ्नै कर्मचारीलाई तलब नदिएको पाइएको छ । टेलिभिजनले कर्मचारीलाई ८ महिनादेखि तलब नदिएको पाइएको हो ।
महिनौँदेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफूहरुले पाउनुपर्ने तलब निःशर्त उपलब्ध गराउन माग गरेका छन् ।
यसो त यो त्यही टेलिभिजन हो, जसले निजी सञ्चार माध्यमहरुमध्ये पहिलो पटक आइपिओ जारी गर्ने तयारी गरेको थियो । टेलिभिजनले सेयर निष्कासन गर्ने सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौतासमेत गरिसकेको छ ।
उक्त सम्झौतामा हस्ताक्षर गर्दै टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेलले आइपिओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको सुरुवात हुने उद्घोष गरेका थिए । तर, नेपाली मिडिया क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेको टेलिभिजनले कर्मचारीलाई नै तलब दिन नसकेको खुलेको छ । कम्पनीको वित्तीय अवस्था दयनीय भएकै कारण कर्मचारीको तलब दिन नसकेको टेलिभिजनमै कार्यरत कर्मचारीले बताएका छन् ।
आफ्नै कर्मचारीलाई ८ महिनादेखि तलब दिन नसकेको जनता टेलिभिजनले आइपिओ ल्याए टेलिभिजनसँगै लगानीकर्ता पनि डुब्ने जोखिम उच्च रहेको विश्लेषण गर्न थालिएको छ । हाल टेलिभिजनका कर्मचारीहरु आफूहरुले पाउनुपर्ने तलब माग गर्दै कामै छोडेर आन्दोलनमा उत्रिएका छन् ।