Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्रीको पत्रकार सम्मेलनः राजिनामा दिएनन्, कुण्ठा मात्रै पोखे ! 

अर्थ सरोकार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि संसद्मा बोल्न पटकपटक प्रयास गरेका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्ने मौका नपाएपछि बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरे ।

राजिनामा दिनुपर्ने चौतर्फी दबाबबीच पत्रकार सम्मेलन गरेका गृहमन्त्रीले पत्रकार सम्मेलनमा के चाहिँ भन्ने रहेछन् ? भन्ने धेरैको चासोको विषय थियो । त्यसैमाथि उनले पत्रकार सम्मेलनमा विशेष खुलासा गर्ने बताएपछि धेरैको ध्यान गृहमन्त्रीको पत्रकार सम्मेलनतर्फ तानियो । 

गृहमन्त्रीको पत्रकार सम्मेलन सुरु भयो । पत्रकार सम्मेलन सुरु भएसँगै गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्न सुरु गरे । उनले भिजिट भिसा प्रकरणमा आफूमाथि लगाइएका सबै आरोप झुठो भएको र आफूलाई नियोजित रुपमा फसाउन षड्यन्त्र गरिएको बताइरहे । 

उनले पत्रकार सम्मेलनमा एउटै कुरा दोहोराईरहे, ‘म निवेदन गर्छु, कर्मचारीमाथि प्रश्न उठ्दा कुन मन्त्रीले राजिनामा दिएका छन् ?’ 

त्यस्तै, उनले पत्रकार सम्मेलनमा अर्को कुरा पनि धेरै पटक दोहोराए, ‘…तीर्थराज जिलाई मैले सरुवा गरेको होइन । भिजिट भिसा प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन ।’ 

उनले राष्ट्रसेवक कर्मचारी र सार्वजनिक पद धारण गरेका कर्मचारीमाथि भएका अनुसन्धानका फेहरिस्त प्रस्तुत गर्दै र सो बेला कुन मन्त्रीले राजिनामा दिए ? भन्दै प्रश्न गरिरहे र आफूमाथि नियोजित रुपमा षड्यन्त्र गरिएको भन्दै राजनीतिक दल र सञ्चार माध्यमप्रति घुमाउरो पारमा कुण्ठा पोखिरहे । 

अर्कोतर्फ गृहमन्त्रीको पत्रकार सम्मेलन हुने भनेसँगै धेरैले उनले पत्रकार सम्मेलनमा भिजिट भिसा प्रकरणबारे जवाफ दिन्छन् र सम्भवतः राजिनामा पनि सोही पत्रकार सम्मेलनमार्फत दिन्छन् भन्ने अनुमान गरेका थिए । तर, उनले राजिनामा दिनुको साटो उल्टै राजिनामा माग्नुको कारण सोधे । सञ्चारकर्मीहरुको प्रश्नमा समेत उनले आफ्नो राजिनामा माग्नु ठिक नभएको भन्दै कर्मचारीमाथि प्रश्न उठेकै कारण मन्त्रीले राजिनामा दिने विधि स्थापित गर्नु गलत भएको उल्लेख गरेका छन् । 

अन्तिममा उनले फेरि भने, ‘कर्मचारीमाथि प्रश्न उठ्नेबित्तिकै मन्त्रीको राजिनामा माग्ने प्रवृत्ति ठिक होइन, यसअघि पनि कर्मचारीमाथि प्रश्न उठ्दा कुन मन्त्रीले राजिनामा दिएका छन् ?’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK