काठमाडौँ । कुनैबेला विदेशी पर्यटकले भरिभराउ हुने रामेछापको शिवालय बजार अहिले सुनसान छ । दोलखाको जिरीबाट रामेछापको शिवालय, बाम्तीभण्डार हुँदै सोलु जाने पर्यटकहरू सो रुटबाट हिँड्न छाडेपछि अहिले शिवालय बजार सुनसान भएको छ ।
सोलुको सदरमुकाम सल्लेरीसम्म सडक नपुग्दा यो रुट विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुग्ने प्रमुख पैदल मार्ग थियो । दोलखाको जिरीसम्म बसमा आएका पर्यटक यही बाटो हुँदै सोलु जाने गर्दथे ।
सल्लेरी सडक पुगेपछि धेरै पर्यटकहरू अहिले काठमाडौँबाट गाडी चढेर सोझै सल्लेरी जाने गर्छन् । रामेछापको मन्थली विमानस्थलबाट हवाई मार्ग प्रयोग गरेर जाने पर्यटकहरूको सङ्ख्या पनि निकै कम छ ।
विदेशी पर्यटकहरूलाई लक्षित गरी शिवालय बजारमा बनाइएका होटेलहरू अहिले खाली छन् भने बजार सुनसान छ ।
फाट्टफुट्ट पैदल हिँड्न चाहने पर्यटकहरू सो रुट भएर हिँड्ने बाहेक विदेशी पर्यटकको सङ्ख्या अति न्यून रहेको गोकुलगंगा गाउँपालिकाकी पूर्वउपाध्यक्ष समेत रहेकी होटेल व्यवसायी राधिका श्रेष्ठ बताउँछिन् । ‘कुनै समय विदेशी पर्यटकले बाटो नपाइने शिवालय बजारमा अहिले विदेशी पर्यटक देख्नु पनि नयाँ जस्तो हुन लागेको छ ।’, स्थानीय ललिता श्रेष्ठले भनिन्, ‘होटलमा बस्ने ठाउँ नपुगेर कतिपय पर्यटकहरू बाहिर टेण्ट टाँगेर बस्थे । अहिले सबै होटल खाली छन् । होटल नचलेपछि कतिपयले त छाडिसके ।’
एकै सिजनमा सयौँ विदेशी पर्यटकहरूले यात्रा गर्ने शिवालय क्षेत्रमा अहिले वर्षभरिमा मुस्किलले एक हजार पर्यटक पनि नआउने राधिकाको भनाई छ । पर्यटक नै आउन छोड्दा व्यापार शून्यप्राय हुन थालेपछी अहिले स्थानीयहरु पर्यटकलाई आकर्षण गर्ने नयाँ तरिकाको खोजीमा छन् । सो रुट भएर सोलु जाने पर्यटकसँग गौरीशङ्कर संरक्षण क्षेत्रले अनावश्यक शुल्क उठाएका कारण पनि पर्यटकको सङ्ख्या घटेको स्थानीयको गुनासो छ । शिवालयबाट अघि बढ्ने पर्यटकले संरक्षण क्षेत्रको कार्यालयमा शुल्क नतिरी प्रवेश नपाउने भएकोले पनि उनीहरू सोझै सोलु जान लागेका छन् ।