काठमाडौँ । नेपाल बैंकका सञ्चालक ध्रुव भट्टराईलाई काम नगर्न/नगराउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले कर्मचारी सञ्चय कोषको प्रतिनिधि भएर आएका बैंकका सञ्चालक भट्टराई काम नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
बैंक सञ्चालकमा भट्टराईको नियुक्ति नियमसंगत नभएको भन्दै अदालतमा रिट दायर भएको थियो । उक्त रिट बैंकका पूर्वसञ्चालक विवेकशमशेर जबराले दायर गरेका थिए ।
सोही रिटमाथिको सुनुवाइका क्रममा अदालतले सञ्चालक भट्टराईलाई काम नगर्न/नगराउन आदेश जारी गरेको हो । त्यस्तै, अदालतले रिटमा माग भए बमोजिम आदेश जारी हुनु नपर्ने भए कारणसहित लिखित प्रमाण पेश गर्न समेत आदेश दिएको छ । अदालतले असार ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
यसो त यसअघि सञ्चालकको उम्मेदवारीका विषयमा विवाद हुँदा पूर्वसञ्चालक जबरा सञ्चालकको निर्वाचन रोक्न माग गर्दै अदालत पुगेका थिए ।
त्यसबेला अदालतले जबराकै पक्षमा फैसला गर्दै तीन जना सञ्चालकको निर्वाचन रोक्न आदेश दिएको थियो । तर, सो मुद्दा अदालतमा विचाराधीन रहकै बेला बैंकले सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषका प्रतिनिधिका रुपमा भट्टराई नियुक्त गरेको भन्दै जबराले अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथिको सुनुवाइका क्रममा अदालतले भट्टराईलाई सञ्चालकका रुपमा काम नगर्न/नराउन आदेश जारी गरेको छ ।