Skip to content
LAXMI SUNRISE BANK

सरकारी कर्मचारी र जापान-कोरियामा बस्ने नेपालीहरुको माग- ‘नेप्सेमा कारोबार गर्ने समय थप्नुपर्यो’ 

अर्थ सरोकार

काठमाडौं । सरकारी कर्मचारी र विदेशमा रहेका नेपालीहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार समय थप्न माग गरेका छन् ।  अहिले बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुँदै आएको नेप्से कारोबार समय धेरैको लागि पर्याप्त नपुगेको भन्दै सरकारी कर्मचारी र विदेशमा रहेका नेपालीहरूले कारोबार समय थप्न वा परिमार्जन गर्न माग गरेका हुन् ।

सरकारी कर्मचारीहरुलाई कतिपय कार्यालयमा सेयर बजारमा कारोबार गर्न रोक नै लगाइएको छ भने कतिपय कार्यालयमा ड्युटी समयमा अन्य काम गर्न पूर्ण रुपमा रोक लगाइएको छ । सेयर कारोबार समय कार्यालय समयभन्दा फरक पार्दा आफुहरु पनि सेयर कारोबारमा संलग्न हुन पाउने भन्दै उनीहरुले यस्तो माग राखेका हुन् ।

विशेषगरी जापान र कोरियामा बस्ने लगानीकर्ताको माग पनि यहि छ । हालको समयले विदेशमा रहेका नेपालीले सेयर कारोबार गर्न असहज भएको भन्दै सहजताका लागि नेप्सेले कारोबार समय केहि थपिदिन उनीहरुले माग गरेका छन् ।

‘विदेशमा काम गर्ने हामीजस्ता नेपालीहरूलाई समय फरक भएर बिहानको कारोबार समयमा सहभागिता जनाउन गाह्रो हुन्छ। साँझ ५ बजेसम्म बजार खुला भएमा हामीलाई पनि सहज हुने थियो,’ कोरियामा बस्ने एक नेपालीले अर्थ सरोकारसँग भने, ‘यो विषय जोडदार रुपमा राख्नुपर्ने बेला भएको छ ।’त्यस्तै, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूले भने कार्यालय समयको ब्यस्तताका कारण हालको कारोबार समय उनीहरूका लागि उपयुक्त नभएको बताएका छन्। ‘हामी बिहान १० बजे कार्यालय जान्छौँ र बेलुका ५ बजे मात्र फुर्सद हुन्छ। अहिलेको समयमा बजारमा सहभागी हुन पाउँदैनौँ । सहभागी हुनुपरे पनि हामीले लुकी लुकी गर्नुपरेको अवस्था छ । नेप्से प्रशासनले हाम्रो अनुरोधलाई गम्भीरताका साथ लिनुपर्छ,’ एक सरकारी कर्मचारीले भने।

बजार समय थप्दा बजारको समग्र कारोबार वृद्धिमा सहयोग पुग्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन् । सेयर बजारमा लगानी गर्नेको संख्या बढ्ने र बजार थप बलियो हुने उनीहरूको तर्क छ ।

यता नेप्से र सेबोनले पनि यो विषयमा छलफल गर्न आफुहरु तयार रहेको बताएका छन् । नेप्से धितोपत्र बोर्डले यस्तो निर्देशन दिए आफुहरु बजार समय परिवर्तन गर्न तयार भएको बताउँछ भने धितोपत्र बोर्ड नेप्सेका कर्मचारीहरु आफ्नो कार्यालय समय परिवर्तन गर्न तयार भएमा आफुहरु पनि यस विषयमा सकारात्मक रहेको बताउँछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK