काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरे । पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग ललितपुर र गैंडाकोटमा घर र जग्गा, ४५ तोला सुन र १५ लाख बराबरको हिरासहित २७ लाख बैंक ब्यालेन्स र सेयरमा लगानी १४ करोड छ ।
पौडेलको सानिमा बैंकमा २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक सेयर, सानिमा माई हाइड्रोमा (प्रमोटरबाट साधारणमा परिणत भएको) ९२ हजार ५ सय ७९ कित्ता र सानिमा मिडल हाइड्रोमा १ लाख ८८ हजार संस्थापक सेयर, ग्लोबेको प्रालाीमा १ लाख ८६ हजार ८ सय ३४ कित्ता सेयर, संयुक्त उर्जा हाइड्रोमा ५ लाख कित्ता सेयर र चितवन इनर्जीमा २ लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सेयर बजारमा राम्रै लगानी रहेका गभर्नर डा. पौडेललाई सानिमा माई हाइड्रोपावरले नै मालामाल बनाइदिएको छ । डा. पौडेलको सानिमा माई हाइड्रोमा सुरुमा संस्थापक सेयर थियो । पछि उनको उक्त सेयर साधारणमा परिणत गरिएको हो । अर्थात, उक्त सेयरको फेस भ्यालु प्रतिकित्ता १ सय रुपैयाँ हो । यस अर्थमा गभर्नर डा. पौडेलले कम्पनीको सेयरमा ९२ लाख ५७ हजार ९ सय रुपैयाँ लगानी गरेका थिए ।
हाल उक्त कम्पनी (सानिमा माई हाइड्रो) को सेयर मूल्य (यो समाचार तयार पार्दासम्म) प्रतिकित्ता ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अर्थात, गभर्नर डा. पौडेलको सानिमा माई हाइड्रोमा रहेको लगानी ५ करोड ६० लाख १० हजार २ सय ९५ रुपैयाँ पुगेको छ । यस हिसाबले गभर्नर डा. पौडेलको नाफा मात्रै ४ करोड ६७ लाख ५२ हजार ३ सय ९५ रुपैयाँ देखिएको छ ।