काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ जस्तै भएको टिप्पणी गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
उनले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भएपनि उनीहरुलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताए ।
रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र कृषिमा अझैपनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गरेका छन् । दूध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उनको आरोप छ ।
आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै अध्यक्ष केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाह वर्गका निमित्त बनेको बताएका छन् । उनले सरकारले संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आफूले बजेटमाथिको छलफलमा भाग लिने गरेको पनि केसीले स्पष्ट पारेका छन् ।
त्यस्तै, सांसद केसीले हरेक वर्ष नेपाली युवाहरुबाट कमिसन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद् र तीनै तहको सरकार चलाउने गरेको बताएका छन् ।