काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
गत वर्षको पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुल अत्याधिक भारसहितको भारतीय मालवाहक लरीका कारण भाँचिएको थियो । पुल भाँचिएपछि पुल भन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तर, केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्वपश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि समस्या निम्तिएको हो ।
भैरहवा-काठमाडौँ रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाउँदै आएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै छन् । असार ८ गते भैरहवाबाट पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगेका उनी ४ देखि सडकमै दिनरात बिताउन बाध्य भएका छन् । दुम्किबासको डाइभर्सन बाढीले बगाएको भन्दै प्रहरीले रोकेपछि उनी सडकमै समय बिताइरहेका छन् । उनले आफूहरूले प्रशासनलाई आग्रह गरे पनि प्रशासनले नसुनेको दुखेसो पोखेका छन् ।
‘हामी यो ठाउँमा आएको ४ दिन भयो । वीरगन्जबाट एक गते लोड गरेर भैरहवा हुँदै यो ठाउँमा आएर बसेको ४ दिन भयो । ४ दिन दुम्कीबास पारी नै खडा भएर बसियो । आज १० दिन भयो । १० दिनमा कति दुःख कति, सुख, कति गर्मी भोग्या होला । प्रशासनलाई भन्यौँ, प्रशासनले सुनेन ।’, उनले भने, ‘आज ४ दिन भइसक्यो घाम लागेर बसेको । प्रशासनले चाह्यो भने सबै पुल बनाएर आवतजावत गर्न सकिन्थ्यो । प्रशासनले गाउँलाई भनेको भए सबै गाडी पार भइसक्थ्यो ।’
भैरहवाबाट काठमाडौँ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । ना ६ ख ३२८४ नम्बरको ट्रकका चालक न्यौपानेले सरकारले जनताका पीडा नसुनेको भन्दै आक्रोश पोखे । उनले चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्ना चालक साथीहरू लामखुट्टेको टोकाइबाट डेंगु सङ्क्रमित भई अस्पताल भर्ना हुनुपरेको समेत बताएका छन् । ‘म चाहीँ दोष दिन्छु, माथि मन्त्रीहरूलाई । मन्त्रीहरूलाई यो थाहा छैन ? मन्त्रीहरूले यो देखेको छैन ? संसद्मा मात्रै कुरा उठाएर हुन्छ ? यातायात चालकका कारण देश धानिएको छ ।’, उनले भने, ‘यहाँ थोरै गल्ती भयो भने यातायात चालकले टिपाइ खानुपर्छ । भोकै बस्नुपर्छ । डेंगु लागिसकेको छ कतिपय चालकहरूलाई । कतिपय चालक बिरामी भइसकेका छन् । यस्तो घाम छ । अलिअलि भएको पैसा पनि सकिसक्यो । हेर्नुस्, कति कठिनाइ छ ।’
त्यस्तै, ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुवोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । चर्को गर्मीमा ४ दिनदेखि बर्दघाटमा बिताउनुपर्दा उनी सरकारसँग रुष्ट मात्रै होइन, प्रहरीले माथिको आदेश छैन भनेर रोक्दा आक्रोशित बनेका छन् । दश चक्के बसले आवतजावत गर्न पाउँदा आफूहरूले नपाएको उनले दुखेसो पोखेका छन् । उनले ट्रकमा भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्न समेत नसकिएको गुनासो गरेका छन् । ‘भैरहवादेखि आलु, प्याज लोड गरेर आएको ४ दिन भइसक्यो । दश चक्केसम्म गाडी जान दिने, बसहरू जान दिने । हाम्रो १२ चक्के जान नदिने । पुलिसलाई सोध्दा हामीलाई केही कुरा थाहा छैन, माथिबाट आदेश आएको छैन भन्छ ।’, उनले भने, ‘आलु प्याज बोकेको हाम्रो २२ वटा गाडी छ । सबै कुहिएर गइरहेको छ । गन्हाएर सुत्न सकिएको छैन ।’
बर्दघाटमै रोकिएका अर्का ट्रक चालक ज्ञानबहादुर कार्कीले आफूहरूले कल्पना भन्दा बाहिरको सास्ती पाएको गुनासो गरेका छन् । उनले यो सरकारको चरम लापरबाही भएको भन्दै आपत्ति जनाएका छन् । सरकारले तदारुकता नदेखाउँदा आफूजस्तै सयौँ चालक र सर्वसाधारणहरूले सास्ती खेप्नुपरेको उनले बताएका छन् । ‘कल्पना भन्दा बाहिरको सास्ती छ । यो सरकारको चरम लापरबाही हो । अरू पुललाई एक साइड सुचारु गरेर भए पनि यसलाई तदारुकताका साथ लगाउनुपर्नेमा बेवास्ता गरेको देखियो ।’, उनले भने ।
उनीहरुजस्तै सयौँ चालकहरू अहिले सडकमै दिनरात कटाउन बाध्य छन् । सयौँ ट्रकहरूलाई सडकमै राखेर उनीहरुले सास्ती खेप्नुपरेको हो । कतिपय सवारीसाधनहरू बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै काठमाडौँ जान समेत बाध्य भएका छन् । पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि निर्माण नहुनु तथा वैकल्पिक सडकको व्यवस्था नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । बुटवल–नारायणगढ खण्डको दुम्कीवासस्थित विनयी खोलाको भाँचिएको पुललाई यहीँ असार भित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।