काठमाडौँ । पछिल्लो ११ महिनामा वाणिज्य बैंकहरुले झण्डै ५४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.९७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
समिक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये ९ बैंकको नाफा बढेको छ भने ११ वटाको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेस्ट बैंक, नेपाल बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंक लिमिटेडले कमाएको छ । बैंकले सो अवधिमा ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै, सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । ग्लोबलले ६ अर्ब ३ करोड ६४ लाख नाफा कमाएको छ ।
त्यस्तैगरी, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ, एभरेस्ट बैंकले ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड ५६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, ११ महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये कुमारी बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ । कुमारी बैंकले सो अवधिमा ३७ करोड १० लाख नाफा कमाएको हो । कुमारीसँगै एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, हिमालयन बैंकको नाफा भने घटेको छ ।