काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न निर्देशन दिएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ, त्यसका लागि सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।
‘यो बाफियासम्बन्धि विधेयकमा हामी जुन छलफल गरिरहेका छौँ । यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ । त्यसका लागि संशोधनकर्ता र समितिले जरुर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ ।’, उनले भने, ‘यो विधेयकको सन्दर्भमा हामी छिटो निष्कर्शमा पुगौँ । छिटो भन्दाले सम्बन्धित विषयले जुन लेभलसम्मको छलफलको डिमाण्ड गर्छ त्यो तहसम्मको छलफल गरौँ तर ढिला नगरौँ ।’
उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने अर्थमन्त्रीको भनाई छ । बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने उनको भनाई छ ।