काठमाडौँ । आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई दिइने क्षतिपूर्ति बढाउने तयारी गरिएको छ । सरकारले आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ मार्फत आन्तरिक दुर्घटनामा मृतकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरेको हो ।
हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो विधेयकको मस्यौदा सार्वजनिक गरेको छ ।
मस्यौदामा हाल आन्तरिक हवाई दुर्घटनाका मृतकका परिवारले पाउने क्षतिपूर्तिलाई ५ गुणा बढाउने प्रस्ताव गरिएको छ । हाल आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले २० हजार अमेरिकी डलर (२७ लाख २० हजार रुपैयाँ) क्षतिपूर्ति पाउँछन् ।
तर, विधेयकमार्फत सो रकम १ लाख डलर (१ करोड ३६ लाख रुपैयाँ) पुर्याउने तयारी गरिएको छ । योसँगै दुर्घटनामा मृत्यु भएमा सम्बन्धित वायुसेवाले क्षतिपूर्ति बापत मृतकका परिवारलाई १ लाख डलर बराबरको रकम उपलब्ध गराउनु पर्ने मस्यौदामा उल्लेख छ । दुर्घटनामा घाइते वा अंगभंग भएमा सम्बन्धित वायुसेवा कम्पनीले नै उपचार गरिदिनु पर्ने प्रावधान समेत मस्यौदामा राखिएको छ ।