काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेञ्ज ल्याउने कुरामा कुनै रोकतोक नभएको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया कार्यान्वयन चरणमा रहेको बताएका हुन् ।
उनले नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणी शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरणमा गइसकेको उल्लेख गरेका छन् । उक्त प्रतिवेदनमा नयाँ स्टक दिन उपयुक्त हुने बताइएको छ । भइरहेको नेप्सेलाई पुनर्संरचना गर्न भनिएको छ । सोही प्रतिवेदन अनुसार पुरानोलाई कसरी लैजाने भन्नेबारे गृहकार्य भइरहेको श्रेष्ठको भनाई छ ।
त्यस्तै, उनले नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकतोक नभएको र अहिले तीन वटा प्रस्ताव आइसकेको पनि बोर्ड अध्यक्ष श्रेष्ठले बताएका छन् । उनले बोर्डमा आएका तीन वटा प्रस्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइने बताएका छन् ।
श्रेष्ठका अनुसार धितोपत्रमा उत्पादनमूलक कम्पनी, राम्रा कम्पनीलाई बजारमा ल्याउन प्रिमियम जोडिने गरेको छ । धितोपत्र ऐन र नीति तथा कार्यक्रममा पनि नयाँ औजारहरुलाई अघि बढाउनेबारे सम्बोधन गर्ने उनको भनाई रहेको छ ।