काठमाडौँ । भारतबाट प्रकाश भुजेलले डाक्टरको उपाधि ल्याएभन्दा पनि तल झरेर एउटा सामान्य भारतीय संस्थालाई हामीलाई अवार्ड दिनुपर्यो, कुन शिर्षकमा हुन्छ दिनुपर्यो भनेर जवरजस्ती अपलाई गरेर, अझ बैंककै खर्चमा दिल्ली गएर, खाएर, पिएर, रमाइलो गरेर झोलाभरी अवार्ड ल्याउने गलत प्रवृतिविरुद्ध बोलिरहेका छौँ आज ।
बैंक नेपालको, काम गर्ने कार्यक्षेत्र नेपाल, तर नेपालको बैंकिङ वातावरण नै राम्रोसँग नबुझेकाहरुले दिल्लीको एउटा कोठामा बसेर नेपाली बैंकले मलाई अवार्ड दिनुपर्यो प्लीज भनेर पठाएको डाटा हेरेका भरमा अवार्ड दिने काम जुन भएको छ, त्यो सोर्है आना गलत छ । अलि अगाडी यस विषयमा कुरा उठेपछि राष्ट्र बैंकले पनि यस्तो अवार्ड खेती गर्नेहरुलाई डीमोटिभेट गरेको थियो । बैंकहरुलाई जथाभावी अवार्ड नलिन भनेको थियो । तर गभर्नर के परिवर्तन भएका थिए देशमा राजनीतिमा झूटको खेती भन्दा चर्को बैंकहरुको अवार्ड खेती हाबी भयो । राष्ट्र बैंकले नै के के न पाएजसरी दिल्ली गएर एक झोला अवार्ड दिन बैंकहरुलाई स्वीकृति पनि दियो । तर त्यो अवार्ड न सहि अर्थमा अवार्ड थियो, न प्रोत्साहन । त्यो त मागेर ल्याएको, अझ मागेर मात्र होइन, पैसा तिरेर, उसकै आँगनमा पुगेर मागेर ल्याएको टोकन थियो । जसले नेपालको बैंकिङलाई प्रोत्साहन होइन, गिज्याईरहेको छ । कारण, मागेको रोटीले मेरो पेट भरिन्न, भनेर स्वाभिमानको गीत गाईरहने हामी मागेर, त्यो पनि जनताको निक्षेपको पैसा खर्च गरी गरी ल्याएको अवार्डमा खुसी हुनुपर्ने ठाउँ छैन, छँदै छैन ।
अव प्रसङ्ग तिर लागौं । र सुरुमा कुरा गरौँ विभिन्न बैंकहरुलाई भारतको एउटा संस्थाले दिएका बग्रेल्ती अवार्डबाट । केहि दिन अघि मात्र एउटा समाचार महालक्ष्मी बिकास बैंकले आफैंले तयार गरेर मिडियाहरुलाई पठायो । सो समाचारमा भनिएको थियो महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । अझ अचम्मको कुरा त के थियो भने बैंकले ‘सम्पत्ति गुणस्तर’ (एस्सेट्स क्वालिटी) अन्तर्गतको विधामा सम्मान पाएको रहेछ । न नेपालमा सम्पत्ति गुणस्तर नाप्ने केहि मापदण्ड छ, न महालक्ष्मीसँग त्यस्तो गुणस्तरीय सम्पत्ति भएर यो अवार्ड दिईएको हो । तर बैंकले के जातिले केरा पायो भनेजसरी हल्ला गरिहलायो । नयाँ दिल्लीमाआयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’मा बैंकले राइजिङ स्टार इन एस्सेट्स क्वालिटी सम्मान प्राप्त गरेको भनिएको थियो सो प्रेस रिलिजमा । अवार्ड हो कि सम्मान हो भन्ने आफैं कन्फ्युजनमा रहेको सो अवार्ड जे भए पनि बैंकले सार्है राम्रो काम गरेर वा त्यहाँ भनिएजस्तो बैंकको सम्पत्ति गुणस्तर सार्है राम्रो भएको भएर अवार्ड पाएको थिएन । थियो त मात्र कसले कहिले कहाँ अवार्ड बाँड्दैछ भन्ने कुरामा चासो राख्ने बैंकका मार्केटिङ हेड पदमा रहेका बसन्त बस्की नामधारी व्यक्तिले महालक्ष्मी बिकास बैंकको तर्फबाट अवार्डको लागि अप्लाई गरेका थिए । र बस्कीले पठाएका सबै विवरणहरु हेरेर विश्वासकै भरमा ठिकै होला नि त भनेर अवार्डदाताले अवार्ड दिएको थियो । फेरी यस्तो अवार्ड बिकसित देशहरुलाई आयोजकले दिने गरेको छैन । किन भन्नुहोला, कुरा सहज छ, सिष्टममा चल्ने देशले त अवार्ड किन दिने ? कसलाई कसलाई दिने ? कसले दिने ? के मापदण्डमा छनोट गर्ने ? जुरी को हो ? सबै हेर्छ नि । केहि पनि नेहेरी अवार्ड लिने लिने देशका लिनेलिने बैंकहरु खोजेर अवार्डदाताले अवार्ड दिएको थियो । जुन महालक्ष्मी बिकास बैंकले पाएको थियो ।
महालक्ष्मी बिकास बैंकले हामीले अवार्ड पायौं भनेर मिडियामा समाचार के छापेको थियो, त्यसपछि गरिमा बिकास बैंकले पनि हामीले पनि त्यहि अवार्ड पाएको हो है भनेर मिडियामा समाचार पठाईहाल्यो । बिकास बैंकका यात्रा फुर्ती, अवार्ड पाउने त हामी पनि थियौं नि, भनेर एभरेष्टले पनि सोहि अवार्ड पाएको भनेर ध्वाँस दिईहाल्यो । सोहि अवार्ड पाएका अन्य केहि बैंकहरुलाईचाहिं लाज लागेछ क्यार उनीहरुले पाएको अवार्डको ध्वाँस दिएनन् । कारण मागेर, खर्च गरेर, अझ जनताको पैसा दुरुपयोग गरेर, घुमघाम गरेर लिएको अवार्डबारे प्रश्न उठ्न थालिसकेको थियो ।
अझ कुरा यतिमा मात्र सिमित छैन, महालक्ष्मी बिकास बैंकले त सीइओमात्र होइन, अवार्ड आवेदनको सबै काम टाकटुक पारिदिने बसन्त बस्कीलाई पनि बैंककै खर्चमा अवार्ड कार्यक्रममा सहभागी हुन भन्दै दिल्ली घुम्न लग्यो, जुन जनताको पैसामाथिको दुरुपयोगमात्र होइन, बैंकले गरेको हदैसम्मको बदमासी हो । हुन त महालक्ष्मी बिकास बैंक त्यहि बैंक हो, जहाँका कर्मचारी जनताको पैसा जुवा खेलेको अभियोगमा अहिले प्रहरी हिरासतमा छन् । तर केहि राम्रा कर्मचारी पनि त छन् महालक्ष्मीमा, तिनको पनि त इज्जत राखिदिनुपर्थ्यो । तर हामी यस्तै त हो नि बोरो भन्ने शैलीमा जनताको पैसामाथि दुइ भाइले दिल्लीमा मस्ती गरेर आए, ल्याए के भन्दा मागेर पाएको एक थान अवार्ड । यो बैंकिङ अवार्डका नाममा जनताको पैसा र विश्वासमाथि भएको हदैसम्मको घात भएन र ?
केहि समय अगाडी पनि बैंकको अवार्ड खेती नेपालमा राम्रै चलेको विजनेश थियो । यतिसम्मकि भारतबाट एउटा कम्पनी नेपाल आउंथ्यो, प्रति अवार्ड गज्जबको पैसा उठाउँथ्यो, अनि भएभरका बैंकलाई अनेक नामधारी अवार्ड दिन्थ्यो, र टन्न पैसा लिएर जान्थ्यो । तरिका उही हो, फरक यति हो अहिले अवार्ड कार्यक्रम भारतमै भयो, लिनेहरु भारतमै पुगे । यस्तो अवार्ड लिन सजिलो पनि छ । झ्याप्प अप्लाई गर्यो, शुल्क तिर्यो, अवार्ड लियो । हदै भएपछि केहि समय अगाडी राष्ट्र बैंकले नै बैंकहरुलाई त्यसो नगर्न भनेको थियो । तर राष्ट्र बैंक लचक के भएको थियो, यस्तो अवार्डको खेती सुरु भईहाल्यो ।
महालक्ष्मी बिकास बैंकले पाएको अवार्ड खासमा कर्णाली डेभलपमेन्ट बैंकले अप्लाई गर्नेगरी अलि अघि तयारी गरेको थियो । तर कर्णाली डेभलपमेन्ट डुबेको घोषणा भयो, त्यहि अवार्ड महालक्ष्मीले अप्लाई गरेपछि उसलाई दिईयो । अझ कर्णालीले त बैंक अफ दी एयरमै अप्लाई गर्ने बाटो खोजिरहेको थियो । तर, सो अवार्ड बाणिज्य बैंकहरुले मात्र पाउने भएपछि कर्णाली पछि हटेर यो भए पनि अवार्ड लिने भनेर लागेको थियो । पछि बैंक नै सिद्धियो, कुरा पनि सकियो ।
यसो त अवार्डका नाममा नेपालमै पनि राम्रै चलखेल हुने गर्छ । अरु त अरु लेखापरिक्षकहरुको नियामक संस्थाको ओझिलो इतिहास बोकेको नेपाल चार्टड एकाउन्टेन्टस संस्था (आइक्यान) ले बाँड्ने बिपीए अवार्ड पनि यसपाली विवादमा पर्यो । भएको रहेछ के भने, एक जना अडीटर साप जो आइक्यानका पार्षद पनि छन्, उनले एक बैंकको त्यहि अडीट रिपोर्ट सिंगार्ने काम ५ लाख जति लिएछन् र अवार्ड दिने बाचा गरेछन् । नभन्दै सो बैंकले अवार्ड पनि पायो । यो विषयमा कुनै अर्को अंकमा कुरा गरौँला, तर देशभित्रै हुने अवार्डमा त यस्तो अवस्था छ भने, सर्टिफिकेट नै नक्कली गल्लीतिरको ठाउँमा गएर एउटा एनजीओ टाइपको संस्थाले दिएको अवार्डमा नेपालीले कसरी विश्वास गर्ने ? नियामक अव यस विषयमा चनाखो हुनु पर्दैन र ?
अहिले बैंकमा काम गर्ने कर्मचारीहरुमध्ये धेरैले त्यतै कोलकत्ता तिरको हुँदै नभएको विश्वविद्यालयको नक्कली सर्टिफिकेटका भरमा जागिर खाईरहेका छन् । नेपालका कतिपयलाई त्यताकै संस्थाले नक्कली डाक्टर बनाईरहेका छन् । अनि नियामकले यस्तो काम टुलुटुलु हेरेर बस्ने ? त्यो अवार्ड दिने संस्थाले बैंकहरुले पठाएको विवरण कहाँ भेरिफाई गर्यो ? राष्ट्र बैंकसँग के समन्यव गर्यो ? एउटा भारतीय संस्थाले फलानो बैंक बेष्ट भन्दा राष्ट्र बैंकले त्यसको स्वीकारोक्ति गर्न सक्छ ? भोलि महालक्ष्मी बिकास बैंक डुब्यो भने अवार्ड पाउँदा राष्ट्र बैंक नबोल्ने, त्यहि अवार्ड पाएको खबर सुनेर सो बैंकमा कारोबार गरेको थिएँ भनेर कसैले भन्यो भने के हुन्छ ? नियामकले यो कोणबाट सोच्नुपर्दैन ?
गरिमा र एभरेष्ट त ल ठिकै बैंक भए, महालक्ष्मी बिकास बैंकको हालत बारे त राष्ट्र बैंकलाई पक्कै थाहा छ । अस्तिभर त्यत्रो घोटाला भएको छ । अवार्ड लिन विदेश जान स्वीकृति दिनुअघि सोच्नुपर्दैन ? अनि महालक्ष्मी बिकास बैंकको संचालक समितिले असम्बन्धित व्यक्तिलाई अवार्डका नाममा विदेश घुम्न जान अनुमति रोक्नुपर्दैन थियो । अरु काम छोडेर बसन्त बस्कीलाई अवार्ड दिलाउने काममात्र गर्न दिने हो भने उनले बैंकलाई कम्तीमा पनि बर्षको एक दर्जन जति अवार्ड दिलाईदिन सक्छन् । यहि भनेर काम नै यहि लाउने ? अनि जनताको पैसामा मस्ती गर्दै घुमाउने ? यहि हो कम्प्लाइन्स ? अव यी विषयमा राष्ट्र बैंक गम्भीर हुनुपर्छ ।
अवार्ड दिने संस्थालाई यहींका मागेर अवार्ड लिने बैंकरहरुले मिडियामा प्रतिष्ठित भनेर हौवा पिटाएका हुन् । न त्यो अवार्ड दिने संस्था हल्ला चलाइएजस्तो प्रतिष्ठित अवार्ड हो, न साँचो अर्थमा अवार्ड दिएको भनिएको शीर्षकमा सो बैंकले अवार्ड पाएको हो । मात्र बैंकहरुमध्ये केहिले आफ्नो कर्तुत लुकाउन, केहिले आफ्नो नेगेटिभ न्यारेसन परिवर्तन गर्न खोज्न र केहिले लौ न लिईहालौं भनेर मागेर ल्याएको अवार्ड थियो त्यो ।
कुनै बेला यस्तो थियो नेपालको फलानो बैंकले बैंक फलानो अवार्ड पायो भन्दा चौतर्फी खुसीयाली हुन्थ्यो, बैंकहरुले पार्टी दिन्थे, कत्रो शान हुन्थ्यो, मान हुन्थ्यो, इमान हुन्थ्यो, स्वाभिमान हुन्थ्यो । तर आजकल न अवार्ड दिने को हो राम्रोसँग थाहा छ, न किन दिएको भन्ने थाहा छ, न लिनेलाई मज्जा छ, न पाएको सुन्नेलाई मज्जा छ ।
कुरा महालक्ष्मी, एभरेष्ट, गरिमा वा कसले अवार्ड पायो भन्ने होइन, कुरा अवार्डका नाममा भईरहेको विकृति रोकिनुपर्छ भन्ने हो ।आज कुनै अमुक संस्थाले नेपालको फलानो बैंक बेष्ट छ भनेर अवार्ड दिंदा गर्व गरिरहँदा भोलि कुनै भारतीय संस्थाले नेपालको फलानो बैंक डुब्छ भनिदियो भने के हुन्छ ? यस विषयमा सोच्नुपर्दैन ? दिनेले के सोचेर दियो होला उनै जानुन् लिनेले त अलिकति लाज मान्नुपर्थ्यो नि, होइन र ?
रोकिनुपर्छ यस्तो अवार्डका नाममा खेती । खोजिनुपर्छ यो रोगको ओखती, नत्र प्रकाश भुजेल डाक्टर हुने, महालक्ष्मीले एसेट्स क्वालिटीमा अवार्ड पाउने, अनि त्यहि अवार्ड अरु बैंकले पनि पाउने, यस्ता ठट्टाहरुले देश बन्दैन, बैंकिङ बन्दैन, बरु बबार्द हुन्छ । चेतना भया । (भिडियो)