काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकका अहिलेका अध्यक्ष देव कुमार ढकाल राष्ट्र बैंकमा आफ्नै महिला सहकर्मीलाई हिँसा गरेको अभियोगमा दोषी ठहर गरेका व्यक्ति हुन् । यो अरु कसैले लगाएको आरोप होइन, बरु महिला आयोगले प्रमाणित गरेको कसुर हो । तर सजाय हुनुपर्ने उनलाई सरकारले राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष बनाएर पठायो ।
राष्ट्रिय बाणिज्य बैंकमा संचालक बन्दा हरि कुमार सिलवाल बैंकको ऋणी थिए । यो स्वयम् बैंकले पुष्टी गरेको तथ्य हो । तर सत्ताको मान्छे भएपछी कसले मान्छ र कानुन भन्ने शैलीमा सिलवाल बैंकको संचालक बने । कुनै पनि बेला बर्खास्तीमा पर्न सक्ने भए पनि त्यो बेलासम्म उनी जे कामका लागि त्यहाँ गएका थिए, त्यो फत्ते भईसकेको हुन सक्छ ।
राष्ट्रिय बाणिज्य बैंकमा ऋण मिलाईदिने नाममा खुलेआम घुस खाने कर्मचारी यसअघि पक्राउ परे । सो प्रकरणले बैंकको छविमाथि धुमिल पारेन, समग्र बैंकिङको इज्जत लुट्ने काम भयो । राष्ट्रिय बाणिज्य बैंककै कर्मचारीले नक्कली सुन राखेर ऋण दिए, नक्कली जग्गा राखेर ऋण दिए ।
अनि यहि राष्ट्रिय बाणिज्य बैंक सरकारी बैंक भएको गौरवमा हामी नेपालीहरु टोलाईरहेका छौँ । सरकारी भएकै कारण सरकारले सबैभन्दा माया गरेर सबैभन्दा बलियो बनाउनुपर्ने बैंक दिनानुदिन जर्जर बन्दैछ । तर पनि सरकारी बैंकको अस्मितामाथि धावा बोल्ने क्रम रोकिएको छैन, रोकिने छाँट पनि छैन । न कसैले बोल्छ, न कसैलाई पोल्छ । कति चुप लाग्नु, आज त खुलेरै केहि घटना केलाउन मन लागेको छ, र भन्न मन लागेको छ, नसुने पनि सरकारलाई ! सरकार, बन्द गर राष्ट्रिय बाणिज्य बैंकप्रतिको अत्याचार ! रोक यो अन्याय ! बरु एमाले नै खोजक, तिम्रै मान्छे खोज तर कानुन मिचेर कसैलाई संचालक नबनाउ । तिम्रै मान्छेलाई बनाउ अध्यक्ष, तिम्रै मान्छेलाई देउ पद, तर चेलीहरुलाई इज्जत नगरेको अभियोगमा कसुर प्रमाणित हुनेलाई अध्यक्ष उपहार नदेउ ।
अव लागौं राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकालको काण्ड के हो भन्ने तर्फ
राष्ट्रिय बाणिज्य बैंकका अहिलेका अध्यक्ष देव कुमार ढकाल महिला हिंसामा दोषी ठहर देखिएका व्यक्ति हुन् । राष्ट्रिय महिला आयोगले ढकालले राष्ट्र बैंककै एक उच्चपदस्थ महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न रहेको ठहर गरेको थियो । सोहि घटनामा राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यलाई नेपाल राष्ट्र बैंकले बर्खास्त गरेको थियो । तर ढकाललाई भने सरकारले बैंकको अध्यक्षमा नै नियुक्त गरिदिएको छ ।
ढकाल दोषी भएको केसको घटना के थियो भने नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यहार गरेका थिए र सो काममा उक्साउने, दुर्व्यवहारको फोटो र भिडियो खिचेर पीडीतलाई थप पीडा दिने काममा ढकाल लागेको आरोप लागेको थियो । पछि पीडित महिला कर्मचारीले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । तर राष्ट्र बैंकले थानेश्वर आचार्यलाई दोषी देखाएर ढकाललाई उन्मुक्ति दिएको थियो ।पछि राष्ट्र बैंकको सो निर्णयमा चित्त नबुझेपछि पीडित महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा २०८० साल माघ २९ गते निवेदन दर्ता गराउन पुगेकी थिईन् । आयोगले अनुसन्धान गरेपछि ढकाललाई दोषी करार गरेको थियो । अव तपाईं आफैं भन्नुस, राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष भएर यस्तै व्यक्ति आउनुपर्ने थियो ?
अव हरि सिलवालको कुरा पनि गरिहालौँ । संचालकमा नियुक्ति भएको मितिमा सिलवाल बैंकको ऋणी थिए । बैंकको ऋणी संचालक बन्न नपाइने कुरा स्वयम् बैंकले बोलिसकेको छ । कानुनले पनि यहि भन्छ । तर उनले ऋण तिरिदिए, त्यसपछि त कानुन सानुन्, एमाले कमरेड नै जानुन् नै भैगो नि । यसले के नजिर स्थापित भयो ? सरकार यतिसम्म निकम्मा बन्न सक्छ ? पावरका भरमा यो देशमा जे गर्न पनि पाइन्छ ? यो त अति भएन र ? भोलि अरु गलत गर्नेलाई पनि बाटो खोलिदिएको हो ? हिजो फर्जी कागज बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई सरकारले नै बर्खास्त गर्दा बीमा प्राधिकरणको इज्जत धुमिल भएजस्तै भोलि गैरकानुनी भनेर सिलवालको नियुक्ति खारेज भयो वा उनी बर्खास्तीमा परे भने सरकारको इज्जत जाँदैन र ? ल ठिकै छ, सरकारको इज्जत त भए पो जानु भन्ने लजिक होला रे, जनताले विश्वास गरेको राष्ट्रिय बाणिज्य बैंकको इज्जत जाँदैन र ?
सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकमा काण्ड यति मात्र छैनन् । केहि फटाहा कर्मचारीले ऋण दिंदा घुस मागेपछि समग्र सिष्टम बदनाम छ । अरु त अरु, घुस नदिएपछि विज्ञापन छापे वापतको पैसासमेत अड्काउँछन् राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी । बैंकले पठाएको अप्रुभल छ, विज्ञापन छापेको पनि छ, बिल पनि छ, तर पेमेन्ट आउन्न, चिया नपिलाई, कि सत्ताधारी दलको मान्छे हुनुपर्यो, कि चिया खर्च छोड्नुपर्यो । नत्र त उही अनेक बहाना । अनि मिडियामा त यसो गर्छन् भने ऋणका फाइलमा घुस खाने कम के नौलो भयो र ? तर बैंकमा सार्है इमान्दार पनि त कर्मचारी छन् । बैंकको इज्जत यसरी धुमिल हुँदा उनीहरुमाथि घात भएन र ?
बैंकमा देवेन्द्र रमण खनालजतिको मान्छे आएका छन् । सार्है मेहेनती भएर काम गरिरहेका छन् । माओवादीमा आस्था राखेकै सहि, काम पनि छापामार शैलीमा गरि नै रहेका छन् । तर, घरी अध्यक्ष लफडा वाला ल्याइदिने, घरी गैरकानुनी रुपमा संचालक बनाईदिने, यसले उनको पनि मनोबल घटेको छ । अनि यस्तै रहेछ चलन भनेर कतिपय ठाउँमा त उनी जतिका राम्रा मान्छेले पनि एभरग्रिनिङ गरेर नाफा देखाईदिए, एनपीएल घटाईदिए । आखिर नाङ्गाको देशमा धोबीले त पंगु नै बन्ने रहेछ नि भन्ने शैलीमा । तर यसले समग्र बैंकलाई कुन दिशामा लैजाला । गम्भीर भएर सोचौं है । (भिडियो)