काठमाडौँ । उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालका मुख्य सडकहरुमा विद्युतीय ट्रली बस सञ्चालन गर्ने योजना अघि सारेका छन् । मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी) सँगको वार्तामा कुलमानले विद्युतीय ट्रली बस सञ्चालन गर्ने योजना अघि सारेका हुन् ।
उनले विद्युतीय ट्रली बस सञ्चालनका लागि सहयोग गर्न पनि एडिबीलाई आग्रह गरेका छन् ।
कुलमानले ‘दिगो सहरी विद्युतीय परियोजना’ सम्बन्धी छलफलमा एडिबी नेपाल आवासीय नियोगका प्रमुख आर्नोड कुश्वा लगायतको उच्चस्तरीय टोलीसँग विद्युतीय ट्रली सञ्चालन गर्ने प्रस्ताव राखेको छलफलमा सहभागी मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार उक्त परियोजना अन्तर्गत सार्वजनिक यातायातका लागि २ सय ५० वटा ठूला विद्युतीय बस सञ्चालनमा ल्याइनेछ । सवारीका लागि आवश्यक चार्जिङ स्टेसन, मर्मत केन्द्र र आवश्यक पूर्वाधार निर्माणसमेत सोही परियोजना अन्तर्गत गरिनेछ । हाल उक्त परियोजनाको सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
उक्त परियोजना सम्पन्न गर्न १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ५६ करोड रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।













