Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकमा बेथितिका चाङ, एउटा ऋण तिर्न अर्को कम्पनीलाई बिना धितो १ करोड १८ लाख रुपैयाँ ऋण !

अर्थ सरोकार

काठमाडौँ । डेभलपमेन्ट बैंकमध्ये पटक पटक राष्ट्र बैंकको कारवाहीमा परिरहने एक्सेल डेभलपमेन्ट बैंकमा विभिन्न काण्डहरु एक-एक गरी बाहिर आउन थालेका छन् । बिना धितो अन्धाधुन्ध लगानी गर्ने गरेको बैंकको बदमासी यो हदसम्म छ कि, सिष्टममा ‘गुड लोन’ भनिएको ऋणको फाइलका ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको समेत पाइएको छ ।

बैंकले लामो समयदेखि अडिट नै नगरेका, कर नतिरेकाहरुलाई पनि क्षमताभन्दा माथि ऋण दिएकोसमेत पाइएको छ । अनि त्यस्ता ऋणीले ऋण नतिरेपछि बैंकले अर्को कम्पनीलाई सोहि कम्पनीको जग्गा खरिदका लागि भन्दै बिना धितो ऋण दिने र सो कम्पनीको ऋण सल्टाएको पाइएको छ । 

डरलाग्दो एभरग्रिनिङको एउटा स-प्रमाण उदाहरण 
यस्तो बेथितिको पछिल्लो उदाहरण हो, झापामा रहेको अरुणोदय माविलाई दिइएको कर्जा । बैंकले सो स्कुललाई क्षमताभन्दा माथि कर्जा दिएको थियो । जबकि सो स्कुलले विगत लामो समय देखि न लेखापरीक्षण गरेको छ, न कर चुक्ता लिएको छ । सो स्कुलले कर्जा नतिरेपछि बैंकले अर्को एक कम्पनीका नाममा ऋण दिएर सो ऋण सोही स्कुलको कर्जा तिर्न प्रयोग भएको पाइएको छ । जुन सरासर गैरकानुनी कम हो ।            

एभरग्रिनिङ गर्ने बदनियत बोकेर बैंकले इभि नेपाल प्रालिका नाममा सोही स्कुलको जग्गा खरिद प्रयोजनका लागि विना धितो १ करोड १८ लाख रुपैयाँ लगानी गरेको स्वयम् बैंकका कर्मचारीहरु दाबी गर्छन् । २०८२ असार मसान्तमा खराब बर्गमा रहेको ऋणलाई असल बर्गमा देखाउन ऋण घुमाइएको प्रष्ट देखिने बैंकका ती कर्मचारीको दाबी छ । बैंकमा बदमासी यति सम्म छ कि, बैंकको कोर बैंकिङ सिष्टममा गुड लोन देखिने ऋणका ऋणी नै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।  

इभि नेपाललाई बैंकले १ करोड १८ लाख ऋण स्वीकृत गरी असार मसान्तमा लगानी गरेको भए पनि बैंकको नाममा कम्पनीको सम्पत्ति रोक्का नभएको र सो रकम प्रयोग गरी स्कुलको ऋण तिरेको पाइएको छ । 

यसो त एक्सेल डेभलपमेन्ट बैंक पटक पटक राष्ट्र बैंकको कारवाहीमा परिसकेको बैंक हो ।  तर बैंकका सिइओ, अध्यक्ष र अन्य हाकिमको मनपरी बैंकमा रोकिएको छैन । यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी एवं गुनासो अधिकृत श्याम बोहोरालाई पटक पटक फोन गर्यौं, तर उनले हाम्रो फोन नै उठाएनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK