Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बाणिज्य बैंकमा अडिटमै झेल ! साढुभाइलाई जोगाउन साढुदाइको खेल ! (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक डुबेको घोषणा हुनु केहि महिनाअघिसम्म अडिटर साप सब ठिक छ भनेर रिपोर्ट सहि गर्दै थिए । बैंक डुबेको घोषणापछि तिनै अडिटरहरुविरुद्ध पक्राउ पूर्जी जारी भयो र तिनको भागाभाग भयो । एउटा बैंकको अडिट लगातार ३ बर्षसम्म उही अडिटर गर्न पाउँछ । तर बीचको चौथो मान्छे पनि घुसाएर कर्णालीका अडिटरले भएका धेरै गलत हर्कतलाई ठिक छ भनेर लेखिदिए । जनताले विश्वास गर्ने त्यो अडिटरको सहिमाथि त्यो बेला विश्वास टुट्यो, जुन बेला कर्णाली डुबेको घोषणा भयो । यो त पछिल्लो ज्वलन्त उदाहरण मात्र हो, अडिटरले हेर्नु पर्ने कुरा नै नहेर्दा पछिल्लो समय धेरै कम्पनीहरुको वित्तीय रिपोर्ट पत्याउन गाह्रो हुन थालिसकेको छ ।

हुन त जसको अडिट गर्नुछ, उसलाई हात जोडेर, अरुको भन्दा कम पैसामा गरिदिन्छु भन्दै फकाएर, १० ठाउँको पावर लगाएर पाएको अडिट गर्दा त्यहि अडिट दिने मान्छेको कैफियत अडिटरले लेख्ने साहस गर्दैनन् । धेरैलाई तीतो लागे पनि सत्य यहि हो, सबै नभए पनि धेरै अडिटरले अडिटका नाममा औपचारिकता निभाईरहेका छन् । बजारमा केहि राम्रा अडिटर पनि छन्, जसले प्रोफेसनल इथिक्स र भ्यालुज बिर्सेका छैनन् । तर मागेर, झुट बोलेर, फकाएर, गफ दिएर अडिट माग्ने र देखिएको कुरा पनि मैले देखिन है भनेर नलेख्नेहरुका कारण पछिल्लो समय सिए क्षेत्र नै बदनाम भएको छ । अनि, केहि नहुन्जेल केहि हुँदैन भनेजस्तै ठिकठाक चलेका बेला सबै ठिक हुने नै भयो, जव बैंक डुबेको घोषणा हुन्छ, उनीहरुको कुरा फेरी उही, हामीले त स्याम्प्लिङ गर्ने हो, त्यो त हामीले देख्दै देखेनौँ ।

अव आजको मूल प्रसङ्गतर्फ लागौं । सम्झनुहोस् त मानौं राम बहादुरको साढुभाइ श्यामबहादुरले गलत गरेको विषयमा अनुसन्धान गर्ने जिम्मा राम बहादुरकै छ । यस्तो केसमा राम बहादुर अनुसन्धान वा परीक्षण निष्पक्ष हुन सक्छ ? अझ श्याम बहादुरले जेल नै जाने गरी गलत गरेको रहेछ भने त्यसबारे राम बहादुर खुलेर बोल्न सक्छ ? अहँ सक्दैन । यहि कारण नै आफन्त जोडिएको ठाउँमा अडिट नगर्नु, यो इथिकल हुँदैन भनेर नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्टस् संस्थाले कोड अफ इथिक्स जारी गरेको छ । आइक्यानले कोडअफ इथिक्समा प्रष्ट आशय दिएको छ- कानुनहरु बाझिन सक्छन्, प्रष्ट नहुन सक्छ, त्यतिबेला एउटा सिएले आफ्नो इथिक्स अनुसार काम गर्नुपर्छ ।

हुन त अध्यक्ष नै महिला दुव्र्यवहारको केसमा दोषी ठहर भएको व्यक्ति भएको बैंकमा, ऋणी संचालक बन्न नपाउने नियमको धज्जी उडाएर, ऋण तिर्छु तर सन्चालक छोड्दिन भनेर संचालक पदबा बस्ने बैंकमा, दायित्व नै भुक्तानी नगरी, वा त्यसको बुक पनि नगरी अकाउण्ट्स क्लोज गर्ने बेथितिको अखडा बैंकमा इथिक्सको खोजिनिधि गर्नु मुख्र्याई हुन सक्छ । तर यो सिर्फ एउटा बैंकको कुरा होइन, एउटा इथिक्स नमान्ने अडिटरको कुरा होइन, समग्र सिए क्षेत्रको इज्जतको कुरा हो । त्यसैले हामी आज बोल्दैछौँ, आइक्यानका पूर्व अध्यक्षसमेत बनिसकेका प्रकाश लम्सालले इथिक्सको रति पनि ख्याल नगरी आफ्नै साढुभाई सीइओ भएको बैंकको अडिट गरेको प्रसङ्ग ।

हो, सरकारी स्वामित्वको बैंक, राष्ट्रिय बाणिज्य बैंकमा नियामकीय ’कोड अफ इथिक्स’ विपरित बाह्य लेखापरीक्षण भएको खुलासा भएको छ । बैंकका सीइओ देवेन्द्र रमण खनाल र बैंकका लेखापरीक्षक प्रकाश लम्साल साडुदाइ, साडुभाइ भएकाले प्रष्ट स्वार्थको द्वन्द देखिँदा पनि बैंकको लेखापरीक्षण प्रकाश लम्सालसमेतको सहभागीमा सम्पन्न भएको पाइएको छ ।

बैंकको आर्थिक बर्ष २०७९-८०, २०८०-८१, र २०८१-८२ को लेखापरीक्षण मा प्रकाश लम्साल संलग्न छन् । उनीसँगै पहिलो दुई बर्षमा अनुप कुमार श्रेष्ठ र प्रकाश जंग थापाले संयुक्त रुपमा काम गरेका छन् भने तेश्रो बर्षमा लम्साल र श्रेष्ठसँगै रमेश धिताल अडिटर छन् । यीमध्ये प्रकाश लम्साल सीइओ देवेन्द्र रमण खनालकी श्रीमती र लेखापरीक्षक प्रकाश लम्सालकी श्रीमती आफ्नै दिदिबहिनी हुन् ।

आइक्यानको ’कोड अफ इथिक्स’ले नगर्नु भनेको काम संस्थाकै पूर्वअध्यक्षले भटाभट गरे !
नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था हो । आइक्यानले जारी गरेको कोड अफ इथिक्समा स्वनियमनको व्यवस्था छ । अथात् कतिपय कुरामा कानुन प्रष्ट नभएको खण्डमा इथिक्सअनुसार स्वार्थको द्वन्द नहुनेगरी काम गर्नु भनिएको छ ।

नेपालको कम्पनी ऐन २०६३ मा कम्पनीको उच्च तहका कार्यकारी भूमिकामा रहेका कर्मचारीहरुका आफन्तलाई लेखापरीक्षक नियुक्त गर्न नपाउने प्रष्ट व्यवस्था उल्लेख छ । कम्पनी ऐनको दफा ११२ मा कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीमा व्यवस्थापन समूहमा रहेका व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदार मध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा नीजको कर्मचारी लेखापरीक्षक नियुक्त हुन नसक्ने स्पष्ट प्रावधान छ ।

ऐनमा नजिकको नातेदार भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासु, ससुरा, दाजुभाइ दिदि, बहिनी, भाउजु, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजु, छोरा, छोरी, छोरी बुहारी, नाति नातिनी, बुहारी वा ज्वाईं सम्झनु पर्छ भन्ने स्पष्ट उल्लेख छ । ऐनले सासु ससुरा र पति पत्नी नै नजिकको नातेदार भनेर व्याख्या गरिदिएपछि उही सासु सरुराका दुई छोरीका श्रीमान् एउटा बैंकको सीइओ हुँदा अर्को त्यहि बैंकको अडिटर भएको स्थितिमा लेखापरीक्षण गर्न कोड अफ इथिक्सले प्रष्ट रोक्छ । तर, राष्ट्रिय बाणिज्य बैंकमा भने सीइओ साढुभाइ हुँदाहुँदै साढुदाइ अडिटरले अडिट सक्काएका छन् । उनीहरुका सासु ससुराका जेठी छोरी खनालले विवाह गरेका हुन् भने कान्छी छोरी लम्सालले विवाह गरेका हुन् ।

लेखापरीक्षक लम्साल स्वयम् आइक्यानका पूर्व अध्यक्ष हुन् । बैंकमा देवेन्द्र रमण खनाल सीइओ भएपछि उनी सो बैंकको अडिटर हुन नपाइने चर्चा त्यतिबेला नै चलेको थियो । तर, कम्पनी ऐनमा साढुभाइ भन्ने शब्द नै नरहेको जिकिर गर्दै कोड अफ इथिक्स बिर्सिएर लम्सालले बैंकको लेखापरीक्षण गरेका छन् ।

के भन्छन् लम्साल र खनाल ?
यता लम्सालले पनि कम्पनी ऐनले नरोकेकाले आफुले राष्ट्रिय बाणिज्य बैंकको अडिट गरेको तर कोड अफ इथिक्सका विषयमा भने आफु बहस गर्न नसक्ने बताए ।

यता बैंकका सीइओ खनालले भने महालेखाबाट नाम आएकोले लम्सालले काम गरेको दाबी गरे । उनी पनि चार्टर्ड एकाउन्टेन्ट नै हुन् ।

‘अनि तपाईंको साढुदाई अडिटर, तपाईं सीइओ, अडिट गर्दा स्वार्थको द्वन्द भएन र ?’ हाम्रो प्रश्नमा खनालले भने, ‘मेरो अडिट गरेको हो र ?

आइक्यानमा हल्लीखल्ली, महालेखामा गाइगुई !
लम्साल आइक्यानका पूर्व अध्यक्ष मात्र होइनन्, उनैको समर्थनमा हरि सिलवाल आइक्यानको पार्सद छन् । आइक्यानको पार्सद रहेका सिलवाल स्वयम् राष्ट्रिय बाणिज्य बैंकमा संचालक छन् । सिलवाल सो बैंकमा ऋणी हुँदा नै एमाले नेताको पावर लगाएर बैंकमा संचालक भएर बसेका छन् । नयाँ सरकारमा पनि महाबीर पुन मन्त्री भएपछि उनी आफ्नो पुनको मान्छे भन्दै पदमै बसिरहेका छन् । पुनको राष्ट्रिय आविष्कार केन्द्रमा सिलवाल पनि संचालक हुन् ।

आइक्यानका अध्यक्ष निल बहादुर सारु मगर आइक्यानको कोड अफ इथिक्स अनुसार नै लेखापरीक्षकले अडिट गर्नुपर्ने बताउँछन् । कम्पनी ऐनले दिएपछि सोहि अनुसार अडिट भएको विषय भने उनले आफ्नो जानकारीमा रहेको बताएका छन् । मगरले लम्सालको बचाउ गर्नुको कारण भने छ । उनी नै स्वयम् तत्कालीन प्राइम लाइफ इन्स्योरेन्समा यस्तै अडिट प्रकरणमा परेका थिए । पछि सो अडिट खारेज भएको थियो ।

आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोल अडिटर र सीइओ साढुदाइ साढुभाइ भएको विषय आफुलाई थाहा नभएको बताउँछन् । डंगोल लम्सालले अडिट सुरु गर्दा सोहि बैंकको डिजीएम थिए । अडिट रिपोर्टमा पनि उनको हस्ताक्षर छ ।

महालेखा भन्छ– ‘नियुक्तिका बेला कोड अफ इथिक्स हेर्ने जिम्मेवारी अडिटरकै हो’
यता महालेखापरीक्षकको कार्यालयले भने लेखापरीक्षक नियुक्तिका बेला स्वार्थको द्वन्द हुन्छ वा हुँदैन भन्ने विषय स्वयम् अडिटरले हेर्ने विषय भएको प्रष्ट पारेको छ । महालेखा परीक्षकको कार्यालयका निर्देशक एवं सूचना अधिकारी रमेश सुवेदीले महालेखाले नाम पठाएको भए पनि लेखापरीक्षक स्वयमले यस विषयमा ख्याल गर्नुपर्ने बताए । ’यस्तो केसमा महालेखाले नाम पठाए पनि, आफ्नो स्वार्थ बाझिन्छ कि बाझिदैन भन्ने विषय स्वयम् लेखापरीक्षकले हेर्नुपर्छ ।’ सुवेदीले अर्थ सरोकारसँग भने, ‘बाँकी के रहेछ म हेर्न लगाउँछु ।’

लम्सालको नाम महालेखा परीक्षकको कार्यालयले पठाएको हो । महालेखाले सीइओ र लेखापरिक्षक आफन्त भन्ने थाहा नपाएकोले यस्तो भएको देखिन्छ । तर, नेपाल स्ट्याण्डर्ड अन अडिटिङले अडिटर स्वयमले आफ्नो नियुक्ति ठिक छ कि छैन भन्ने हेर्नुपर्छ भन्न भनेको छ । आइक्यानका पूर्व अध्यक्षसमेत रहेका प्रकाश जंग थापाले यो विषयमा देखाएको मौनता पनि शंकास्पद छ ।

अडिटर नै गैरकानुनी नियुक्त भएपछि आफ्नै ससुराकि छोरी बिहे गरेको, आफ्नै श्रीमतीको भिनाजुले गरेको कामका बारे लम्सालले लेख्ने कुरै भएन । यसले बैंकभित्र खनालले गरेका अनेकौं बदमासी पनि नलेख्ने काम भएको छ । यसले समग्र सरकारी स्वामित्व भएको बैंकको बैंकमा दुई साडूदाइ साडू भाइ मिलेर सब ठिक छ भन्ने काम भएको छ । तर, यसले सिधा सरकारलाई ठग्ने काम भएको जानकारहरु बताउँछन् ।

यसरी लम्सालले खनालका धेरै कर्तुत छोपिदिएपछि खनालले पनि लम्साललाई ठाउँ ठाउँमा गुन लगाएका छन् । बैंकको ऋणी संचालक बन्न नपाउने प्रचलित व्यवस्थाविपरित हरि सिलवाल बैंकको संचालक बनेर आउँदा खनाल चुप लागेका थिए । हरि सिलवाल आइक्यानको पार्षदको चुनाव लड्दा प्रकाश लम्साल नै सो चुनावमा प्रस्तावक थिए । यसरी आइक्यानको पोलिटिक्सको गेममा जनताको खर्वौँ निक्षेप भएको सरकारी कम्पनीको लेखापरीक्षणमासमेत धावा बोल्ने काम भएको आरोप स्वयम् बैंकका उच्च अधिकारीहरुले लगाउँदै आएका छन् । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK