Skip to content
LAXMI SUNRISE BANK

प्रदूषणको चपेटामा काठमाडौँ, सास फेर्नै सकस ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ वातावरणीय प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषण मापन गर्ने सूचकांकले काठमाडौँको वायु मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ । 

काठमाडौँको आकाश पूर्ण रुपमा धुवाँ र धुलोको बाक्लो चादर (तुवाँलो) ले छोपिएको छ । निलो आकाश देखिन छाडेको छ भने सास फेर्ने हावा नै विषालु बन्दै जाँदा उपत्यकावासीको जनजीवन कष्टकर बनेको छ । बागमती नदी किनारदेखि चक्रपथका फराकिला सडकहरूसम्म चारैतिर उराठलाग्दो र फुस्रो दृश्य मात्र देखिन्छ । 

शहरका अग्ला भवनहरू र धरहरा जस्ता संरचनाहरू धुवाँको तुवाँलोभित्र धमिलो देखिन थालेका छन् । उपत्यकाका डाँडाहरूबाट लिइएका तस्बिरहरूले त झनै डरलाग्दो यथार्थ पस्किएका छन् ।

सम्पूर्ण शहर एउटा कचौराभित्र जम्मा भएको धुवाँको कुहिरोमा डुबेको जस्तो देखिन्छ । हरिया डाँडाहरू र टाढाका बस्तीहरू तुवाँलोले गर्दा आँखाले ठम्याउनै नसकिने अवस्थामा पुगेका छन् । 

काठमाडौँको ‘कचौरा’ जस्तो भौगोलिक बनावटले गर्दा बाहिरबाट आएको र भित्रै सवारी साधन, कलकारखाना र निर्माण कार्यबाट निस्किएको धुलो-धुवाँ बाहिरिन पाएको छैन । भिजिबिलिटी ह्वात्तै घटेको कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । बाटोमा हिँड्ने सर्वसाधारणले आँखा पोल्ने, घाँटी खसखस गर्ने र श्वासप्रश्वासमा भारीपन महसुस भएको गुनासो गरिरहेका छन् । चिकित्सकहरूका अनुसार यस्तो हावाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दम, निमोनिया जस्ता श्वासप्रश्वासका बिरामीहरूलाई गम्भीर असर पुर्याउँछ । 

विज्ञहरूले यो अवस्थामा ‘मर्निङ वाक’ लगायतका बाहिरी शारीरिक व्यायाम नगर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अपिल गरेका छन् । सरोकारवाला निकायले अब प्रदुषण नियन्त्रणका लागि तत्काल सङ्कटकालीन कदम चाल्न र दीर्घकालीन रणनीति अपनाउन ढिला भइसकेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK