Skip to content
LAXMI SUNRISE BANK

डिम्याट खाता खोल्नेको संख्या झण्डै ८१ लाख, ‘मेरो सेयर’ प्रयोगकर्ता कति ?

अर्थ सरोकार

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या झण्डै ८१ लाख पुगेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिको बैठकमा प्रस्तुत गरेको तथ्यांकअनुसार असोज १३ गतेसम्म डिम्याट खाता संख्या ८० लाख ९५ हजार पुगेको हो ।

त्यस्तै, सक्रिय ‘मेरो सेयर’ खाता ५१ लाख २२ हजार पुगेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या भने ३५ लाख ६२ हजारभन्दा बढी पुगेको बोर्डले जनाएको छ ।

धितोपत्र बजारमा प्राथमिक सेयरको हिस्सा अझै ठूलो रहेको छ । संगठित संस्थाले प्राथमिक बजारबाट संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत रहेको छ । संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार शेयरको हिस्सा २.१७ प्रतिशत रहेको छ ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिइएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म भने चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनको अनुमति दिइएको छ । यस्तै, हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ ।

दोस्रो बजारतर्फ असोज १३ गतेसम्म नेप्से सूचकांक २६०३.७१ बिन्दुमा रहेको छ । सो अवधिमा कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको अध्यक्ष भट्टले जानकारी दिए ।

पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको बोर्डले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK