Skip to content
LAXMI SUNRISE BANK

सरकारी खरिद प्रणाली ‘ह्याक’ गरेर ठेक्काको विवरण हेरफेर गर्ने ३ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ, १६ कात्तिकः नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को इ-सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात (डकुमेन्ट) परिवर्तन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।

ब्युरोमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट संलग्नता खुलेपछि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता अवस्थीले बताए ।

पक्राउ परेका व्यक्तिमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK