Skip to content
LAXMI SUNRISE BANK

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्रीवितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टुकुचाबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोटका ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका-५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका-१ का २६ वर्षीय सनम तामाङ र सोही ठाउँका ३२ वर्षीय राजु लामा रहेका छन् ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ का २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका-२८ स्थित टुकुचाको खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले करिब ५६७ किलो मासु बरामद गरेको छ । उक्त मासु बा ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् । पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK