काठमाडौँ । अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउदलाई तत्काल वर्खास्त गर्न सरकारलाई निर्देशन दिएको छ । सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद प्रकरणमा मुछिएका उनीहरुलाई पदमै राखेर अनुसन्धान गर्दा अझै चलखेल गर्न सक्ने र अनुसन्धान प्रभावित हुनसक्ने भएकाले पदबाट बर्खास्त गरेर अनुसन्धान थाल्न सांसदहरुले माग गरेका हुन् ।
पदको दुरुपयोग गर्दै ढुंगानाले आफ्नी छोरीका नाम र साउदले आफ्नी श्रीमतीका नाममा हजारौं कित्ता सेयर किनेर राखेको पाइएको थियो । त्यसपछि उनीलाई अर्थ समितिमा बोलाएर छानविन पनि गरिएको थियो । सो बैठकमा ढुंगाना र साउदले सो कम्पनीको ओटीसी सेयर किनेको बताएका थिए ।
ढुंगानाले विवाहित छोरीको नामको सेयर आफुसंग सम्बन्धित नभएको र सो सेयर आफ्नो परिवारका व्यक्तिको नाममा गणना नहुने अभिव्यक्ति बैठकसामु दिएका थिए भने साउदले कुनै पनि कम्पनीको ओटीसी सेयर किन्न आफुलाई कुनै कानुन, ऐनले नरोकेको अभिव्यक्ति दिएका थिए ।