काठमाडौँ । काठमाडौंँमा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग समन्वय गरेर विद्यालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशसन कार्यालय काठमाडौँले बिहिबारदेखि स्मार्ट लकडाउनको मापदण्ड पालना गरी विद्यालय खोल्न स्थानीय तहले डीसीएमसीसँग समन्वय गर्न सक्ने निर्णय गरेको हो ।
प्रशासनले निषेधाज्ञा सम्बन्धी बुधबार आदेश जारी गर्दै भौतिक रुपमा विद्यालय नखोल्ने तर खोल्नै परे स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी खोल्न सक्ने निर्णय गरेको हो । यस्तै स्थानीय ढुवानीको सामानका लागि बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ ।
सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको पनि प्रशसनले जनाएको छ । यस्तै आदेशमा भिडभाड हुने कार्यक्रम नगर्न, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न उल्लेख गरिएको छ ।
साथै कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंगमा परेकाहरुको निः शुल्क एन्टिजेन र पीसीआर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहलाई भनिएको छ ।