Skip to content
LAXMI SUNRISE BANK

२४ करोड ५३ लाखको लागतमा सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र

अर्थ सरोकार

कञ्चनपुर  । कञ्चनपुरको दोदा नदीमा छ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र परेको छ । विसं २०७२ पुसमा  २४ करोड ५३ लाखको लागत सम्झौता भएको सो पुल निर्माणका क्रममा समस्या देखिएपछि अलपत्र परेको हो । यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुल लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा पाए पनि पुल भने राजेन्द्र निर्माण सेवाले बनाइरहेको थियो । “पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि पुलको डिजाइन पुनः बनाएर सडक विभागमा पठाइएको छ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले भन्नुभयो, “दशैँलगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउने छ ।”

दुई लेनको २०० मिटर पुल समयमा नबन्दा यहाँको लालझाडी गाउँपालिकाका नागरिकले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ । प्राविधिक समस्या देखिए पनि पुल निर्माण विसं २०७५ यता हुनसकेको छैन । पुलका चारवटा पिलर निर्माण भए पनि अब नयाँ ठाउँमा निर्माण व्यवसायीले आफ्नै खर्चमा बनाउनुपर्ने भएको सूचना अधिकृत जोशीले बताउनुभयो । “निर्माण व्यवसायी प्रक्रियालाई पूरा गरेर आफैँ पुल बनाउन लागिपरेको छ”, उहाँले भन्नुभयो, “बीचमा प्राविधिक समस्या देखिँदा केही ढिलाइ भएकै हो ।” भौगोलिकरूपमा विकट मानिएको लालझाडीमा विकास निर्माणको गति अन्यत्रभन्दा सुस्त हुँदा त्यहाँका नागरिक समस्यामा छन् । सो पुल नबन्दा स्थानीयवासी नदी तर्न रकम तिर्न बाध्य छन् । नदी तार्न यहाँ ट्युब राखेका छन् ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले पुल नबन्दा गाउँपालिकाका १८ हजार नागरिक पूर्वपश्चिम राजमार्गसित जोडिन नपाएको बताउनुभयो । “राजमार्गसित जोड्न नजिकको बाटो त्यही पुल भएर नै हो”, अध्यक्ष बडायकले भन्नुभयो, “निर्माण व्यवसायीले नै पुल बनाएर दिने कुरो सुने, त्यो समयमा होस् ।” त्यसैगरी सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा साना तथा ठूला गरेर नौवटा पुल निर्माण भएको जनाएको छ । “थप १४ वटा पुल निर्माण अन्तिम चरणमा छन्”, सूचना अधिकृत जोशीले भन्नुभयो, “सडक र पुल निर्माणले यहाँ नागरिकलाई आवागमनमा सहज भएको छ ।”

त्यस्तै कैलाली र कञ्चनपुरमा गत आर्थिक वर्षमा ७२ किलोमिटर सडक कालोपत्रसमेत गरिएको जोशीले जानकारी दिनुभयो । “यहाँ जे–जति निर्माण भए ती सबै सङ्घीय सरकारको बजेटमा बनेका हुन्”, उहाँले भन्नुभयो, “चालु आवमा पनि सडक, पुललगायतका पूर्वाधार निर्माण हुनेछन् ।”-रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK