बलेवा । बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी बिक्री गर्नुहुन्छ । बजारमा रहेका फलफूल तथा तरकारी व्यवसायीले उहाँले तरकारी सबै खरिद गर्छन् । बजारमा अरू जिल्लाबाट आएको तरकारी कम भएको बेला सरिताले राम्रो मूल्य पाउनुहुन्छ, बाहिरी जिल्लाको तरकारी प्रशस्तै आयो भने उहाँको तरकारीको मोलमोलाइ हुन्छ । उहाँको मुख्य पेसा नै यही हो । तरकारीबाटै उहाँ र उहाँको परिवार पालिएको छ ।
बजारमा तरकारी आएको बेला खुसुक्क फर्ममा पुग्छन् र भन्छन्, “अन्त नभन्नु मूल्य राम्रो दिन्छु,” सरिता भन्नुहुन्छ, “बजारमा तरकारी प्रशस्तै भए उनीहरुकै पसलमा पु¥याउँदासमेत वास्ता गर्दैनन् तर तरकारीको न कुनै तोकेको मूल्य छ न त मूल्य निर्धारण गर्ने निकाय नै ।” बजारमा तरकारीको मूल्य तोक्ने कुनै निकाय नभएकै कारण मनपरी मूल्य र खुसुक्क मूल्य निर्धारण हुने गरेको उहाँको गुनासो छ । उपभोक्ता र किसान शर्मा बीचको दूरी नजिक छ तर उपभोक्ताले सिधै सरिताको तरकारी खरिद गर्न सकेका छैनन् भने उनले फलाएको तरकारीले उपभोक्ताले तिरेको मूल्य पाएको छैन । बिचौलियाका कारण बागलुङ बजारमा तरकारीको मूल्यमा मनपरी चल्छ । यसको मारमा उपभोक्ता र किसान दुवै छन् भन्नुहुन्छ, “अर्का किसान कोपिल बुढाथोकी ।”
“बजारमा हप्तामा एक पटक मासुको मूल्य तोकिन्छ, दूध, खाद्यान्न र अन्य उपभोग्य वस्तुको मूल्य तोकिएबमोजिम हुन्छ,” बुढाथोकी भन्नुहुन्छ “कुश्मामा पहिरो जानुअघि ३० रुपैयाँ किलोको तरकारी पहिरोले बाटो रोक्दा किन ८० पुग्छ रु उत्पादन जिल्लामै छ, किसानको बारीमा कुहिएको छ, बजारमा मनोमानी चल्छ ।” तरकारीको थोक मूल्य र बजार मूल्य निर्धारण नहुने गरेकै कारण उपभोक्ता र किसान मर्कामा परेको बुढाथोकीले गुनासो गर्नुभयो ।
बजार मूल्यले उपभोक्ता थिचिँदा किसानको उत्पादनले मूल्य नपाएकै कारण किसानको अवस्था नसुध्रिएको किसान नारायणप्रसाद शर्मा बताउनुहुन्छ । “हेर्नुस् वर्षौं भयो तरकारी खेती गरेको, बजारको मूल्य हेर्दा मालामाल भयो होला भन्ने लाग्दो हो तर किसानको अवस्था उस्तै छ,” शर्माले भन्नुभयो, “किसानले बीउ मलसमेत पु¥याउन सक्दैन, किसान र उपभोक्ता दुवै ठग्ने को हो खोज्नु पर्दैन् ?”
किसान र उपभोक्ताको गुनासो व्यापक रहे पनि जिल्लामा दैनिक उपभोग्य वस्तुको थोक तथा खुद्रा मूल्य तोक्ने निकाय नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “अहिले हामीले थोक तथा हाटबजार सञ्चालनका लागि परामर्श थालेका छौँ, समूह र सहकारीले यस्तो बजार सञ्चालन गर्ने भए कार्यसमिति तयार हुन्छ, सोही समितिले मूल्य निर्धाराण र व्यवस्थापन गर्छ,” उहाँले भन्नुभयो । सरकारी निकायले बेला बेलामा बजारको अनुगमन गर्ने गरे पनि किसानको मर्काबारे भने कसैले आवाज नउठाउने किसानको गुनासो छ ।
बागलुङ बजारमा कृषि हाटबजार तथा थोक बजार सञ्चालनका लागि जिल्ला कृषि सहकारी सङ्घले नगरपालिका, कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा काम थालेको छ । सङ्घका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार तथा थोक बजार व्यवस्थापन समिति गठन भइसकेकाले अब भने किसान र उपभोक्ताका समस्या समाधान हुनेगरी काम अघि बढ्ने भट्टराईले बताउनुभयो ।
किसानको उत्पादन खरिद गरेर उपभोक्तालाई पु¥याउने व्यवसायीको पनि आफ्नै गुनासो छ । डोकोमा बोकेर घरघरमा पुग्नेहरुका कारण किसानको उत्पादनको मूल्य एकनास नहुने व्यवसायी गोपाल सापकोटाले बताउनुभयो । “यहाँको सरकारले दर्ता गराएर कर असुल्छ हामीसँग तर हामीले कर तिर्ने गरी व्यपार गर्नसमेत पाउँदैनौँ,” सापकोटाले भन्नुभयो, “हामीले व्यवसाय कर तिर्नका लागि मात्रै गर्ने हो र ?” तरकारीको बजार र उपभोगलाई व्यवस्थित गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने व्यवसायी तथा किसानको माग छ । -रासस