तनहुँ । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमध्ये नौ जना मोटरसाइकल, एक जीप र एक बस चालक रहेका छन् । प्रतिघण्टा र किलोमिटर ६० भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारबाही गरिएको हमालले जानकारी दिनुभयो । प्रहरीले पृथ्वीराजमार्गको तनहुँ खण्डमा अधिकतम ६० र घुम्तीमा ४० प्रतिघण्टा र किलोमिटर गति निर्धारण गरेको छ । “सवारी दुर्घटनाको धेरैजसो कारण तीव्रगति हो, यसलाई नियन्त्रणका लागि राडर गनको प्रयोग गरी कारबाही थालेका हौँ”, उहाँले भन्नुभयो, “यो अभियान निरन्तर रहनेछ ।”
पृथ्वीराजमार्गमा यात्रा गर्ने ७० प्रतिशतभन्दा बढीले तीव्रगतिमा सवारी हाँक्ने गरेको कार्यालयले गरेको परीक्षणले देखाएको छ । राडर गनबाट गरिएको परीक्षणअनुसार मोटरसाइकल, प्राइभेट जीप, स्थानीय मिनीबस, खाली ट्रकलगायतले तीव्रगतिमा हाँक्ने गरेको पाइएको छ । राडर गनले कुन सवारी कति गतिमा गुडेको छ भन्नेबारेमा पत्ता लगाउने हुँदा गति कम गर्न यसले सहयोग गर्ने उहाँले बताउनुभयो ।
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् । उक्त अवधिमा तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको थियो । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । कार्यालयका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक/ट्याङ्कर १८, जीपरकार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएको थियो ।
दुर्घटनामा ७६ गम्भीर र ५१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । “तीव्रगतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको अनुसन्धानबाट पत्ता लागेको छ”, हमालले भन्नुभयो, “भर्खरका युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्यधिक छ ।”
दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । सवारी चालक र पैदलयात्रीलाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा बढीजसो दुर्घटना पृथ्वीराजमार्गमा हुने गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरू हुन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्