काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले असोज १७ गतेदेखि ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने भएका छन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २०५ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जनाएको छ ।