गलेश्वर । आजबाट दसैँ सुरु भएको छ । दसैँ शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । विगत दुई वर्ष अघिसम्म दसैँ सुरु हुनुभन्दा १५/२० दिन अघिदेखि नै भीडभाड लाग्ने म्याग्दीको सदरमुकाम बेनी बजारका पसलमा दसैँं सुरु भइसक्दा पनि कुनै रौनक नदेखिएको व्यापारी बताउँछन् । कोरोना भाइरस सङ्क्रमणको त्रास र आम उपभोक्तासँग आम्दानी कम भएकाले अत्यावश्यक सामानबाहेक अन्य सामान खरिद गर्नेको सङ्ख्या कम भएपछि व्यापार बढ्न नसकेको व्यापारीको भनाइ छ ।
सधैँ भीडभाड हुने न्यूरोड, इन्द्रणी टोल, क्याम्पस चोक, पिपलचोक, कालीपुल, सङ्गमचोक र बालमन्दिर चोकलगायत जिल्लाका ग्रामीण बजारमा सामान किनमेल गर्ने ग्राहकको सङ्ख्या अझै बढ्न सकेको छैन । दसैँ आइसक्दासमेत खासै व्यापार बढ्न नसकेको व्यापारी बताउँछन् । रेडक्रस मार्गको कपडा पसलका सञ्चालक प्रकाश सापकोटाले यो वर्ष खासै लत्ताकपडाको कारोबार बढ्न नसकेको बताउनुभयो । “दसैँको बेला अन्य मौसमको तुलनामा दोब्बर/तेब्बर कारोबार हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यो वर्ष नयाँ कपडा नआएको र कोभिडका कारणले गर्दा आम मानिससँग आम्दानी कम हुँदा आवश्यक पर्नेले मात्र सामान किन्ने गरेकाले पनि व्यापार राम्रो छैन ।”
व्यवसायीका अनुसार एक वर्षमा हुने कारोबारमध्ये दसैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दसैँमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढने गर्दथ्यो । तर यो वर्ष व्यापार सामान्य भए पनि विगतका वर्षको अनुपातमा हुन नसकेको सापकोटाले जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अनुसार बेनीमा करिब दुई हजार पसल दर्ता भएका छन् । चाडपर्वको बेला खाद्यवस्तु, सवारीसाधनदेखि लत्ताकपडाको व्यापार यतिबेला बढी हुनेगर्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्यले पनि यो वर्ष दसैँको सामान किनमेल गर्नेको खासै चहलपहल नबढेको बताउनुभयो ।
दसैँमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ताकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने व्यापारीले बताएका छन् । कोभिडका कारण गतवर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपाली भने केही व्यापार भइरहेको व्यवसायीको भनाइ छ । चाडबाडमा कारोबार राम्रो हुने भए पनि कपडाको भाउ महँङ्गिएको व्यवसायीको भनाइ छ । गतवर्ष दुई हजार हाराहारीमा पाइने कपडा यस पटक दुई हजार ५०० सम्म पर्ने बेनी पिपलचोकका व्यवसायी निर्मल खत्रीले बताउनुभयो । यो वर्ष बजारमा अधिकांश सामानको मूल्य बढेको उहाँको भनाइ छ । समयमै सामान आइनपुगेको र लागत मूल्य नै महँगो परेकाले मूल्य बढ्न गएको व्यापारी बताउँछन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्