महोत्तरी । स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जना पक्राउ परेका छन् । महोत्तरी प्रहरीले सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ गरेको हो ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका-७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले झोलाभित्र पाँच लाख, मोटरसाइकलको सिटमुनिमा २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र तीन लाख र आफ्नो खल्तीमा चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम लुकाएर ल्याएका थिए ।
पक्राउ परेका २ जनामाथि आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।