Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्तिक २५ गते भित्र दरखास्त दिन आह्वान, कति चाहिन्छ योग्यता ?

अर्थ सरोकार

काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षको  लागि दरखास्त आह्वान गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले बुधबार बोर्ड अध्यक्ष छनौटका लागि अर्थसचिव, योजना आयोगका सदस्य तथा एक विज्ञसहितको गठित समितिले बोर्डको अध्यक्षको लागि इच्छुक तथा योग्य व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो ।
समितिले बोर्डमा रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले १५ दिन भित्र अर्थात् कार्तिक २५ गते भित्र आवेदन  दिनुपर्ने जनाएको छ । इच्छुकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य सिलबन्दी आवेदन दिनुपर्नेछ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको हो ।
यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ ।  जसमा मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । निम्न योग्यता पुगेकालाई मात्र समितिले आवेदन दिन आग्रह गरेको छ ।
(१) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यताका भएको :
क. नेपालको नागरिक भएको
ख. उच्च नैतिक चरित्र भएको
ग. धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा सात वर्षको पेशागत अनुभव हासिल गरेको
घ. धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको
आ) अर्थ मन्त्रालय सम्बद्ध निकायका पदाधिकारीहरूको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको
दरखास्त पेस गर्ने प्रक्रिया :
क) दरखास्तसाथ अर्थ मन्त्रालयको website: www.mof.gov.np मा प्रकाशित अध्यक्षको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधिको दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदन स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने समितिले जनाएको छ।
ख) दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्नुपर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर “नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरेको हुनुपर्ने समितिले उल्लेख गरेको छ ।
छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरणसमेत गर्नुपर्नेछ । साथै सो पदमा आवेदन दिँदा ३ हजार दस्तुर लाग्ने छ । समितिले झुटा विवरण वा कागजात पेस गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK