म्याग्दी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी-जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत प्रभावित बनेको छ । स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई वटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी-जोमसोम सडकका थप दुई वटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ र अन्नपूर्ण गाउँपालिका-७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोगविहीन बनेको बताए ।
“अन्नपूर्ण गाउँपालिका-२ र ६ को सिमानामा पर्ने पाखेरेबगरस्थित कालीगण्डकी र बेनी नगरपालिका-९ र रघुगङ्गा गाउँपालिका-३ को सिमाना गलेश्वरस्थित राहुघाट नदीमा पनि पक्की पुल निर्माणको अन्तिम चरणमा छ”, उनी भन्छन्, “लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।” विसं २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दूरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा पक्की पुल निर्माण नहुँदासम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगङ्गा गाउँपालिका-१ बेगखोलाको बेलिब्रिज बाढीले बगाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् ।
बेगखोला, रुप्सेखोलालगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउदा बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भए पनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताए । सोमबार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठौँ जिल्ला सभाले प्रयोगविहीन बेलिब्रिज स्थानान्तरणका विषयमा छलफल भए पनि ठोस् निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनोट गरेर सिफारिस गर्ने जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।
बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत निर्माणाधीन म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेवेल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जिनीयर आश्वीनीकुमार यादवले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए । “४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ”, उनी भन्छन् “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।” -रासस