महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुग्नुभएका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउनुहुन्छ ।
“गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन्”, उहाँले भन्नुभयो, “युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन् ।” नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन् । “हाम्रो जस्तो दुःखको काम यहाँ भारतीयले गर्न आँटसम्म गर्दैनन्”, रावलले भन्नुभयो, “यहाँ युवादेखि वृद्धसम्म मजदुरीमा सक्रिय छन् ।” उहाँले मुलुकमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको बताउनुभयो । “युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्”, उहाँले भन्नुभयो, “नेताहरुले सपना देखेको समृद्ध नेपालको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्नसके मात्रै सम्भव होला ।”
सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो । सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नागरिक रोजगारीका लागि भारत जानेक्रम दैनिकजसो चलिरहेको छ । त्यसैगरी नैनीतालमा होटलमा गार्डका रुपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको बताउनुभयो । “नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु”, ६१ वर्षीय बुबाले भन्नुभयो, “गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ ।”
उहाँले पनि मुलुकभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताउनुभयो । “नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन ?”, उहाँले भन्नुभयो, “युवाशक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन ।” त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको बताउनुभयो । “नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो”, शाहीले भन्नुभयो, “हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो ।”
शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाई, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताउनुभयो । “अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन”, उहाँले भन्नुभयो, “नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन् ।”-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्