काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताएका छन् । मन्त्री शर्मा भन्छन्, ‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ’ ।
मन्त्री शर्माले संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने गरी अघि बढ्न उनले आग्रह गरे । मन्त्री शर्माले युवाहरुलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन आग्रह गरेका छन् । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनँले आग्रह गरे ।
यसैबिच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्याश गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरु आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए । दैनिक एक लाख लिटर दुध संकलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दुध उत्त्पादन गर्नको लागि किसानहरुलाई उन्नत जातको दुधालु भैंसी र उन्नत जातको दुधालु गाइहरु लागत सहभागितामा वितरण गरिने जानकारी दिए । ‘यसबाट हरेक दिन किसानको घरमा पैंसा भित्रिन्छ, प्रशोधित दुधबाट बन्ने पदार्थबाट प्राप्त आम्दानीमासमेत किसानहरुको हिस्सा लाग्छ ।’ मन्त्री शर्मा भन्छन्,‘जनतालाई गरिबीबाट माथि उठाउने र हरेक युवालाई स्वरोजगार बनाउने अभियान यसैबाट सुरु हुनेछ । आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।
‘समृद्धिको अभियान भनेको सवभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नती, उत्पादनमा बृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बडाउनुस् ।’ उनले थपे ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौं ।’ यस्तै आफूले प्राथमिक शिक्षा ग्रहण गरेको मुसिकोट-५ सेरिगाँउस्थित यमुनानन्द नमूना माध्यामिक विद्यालयमा निर्मित कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्यालयहरु उद्यमशील हुनुपर्ने बताए ।
विद्यालयहरु किताव पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयोगशालासहितको हुनुपर्छ ।’ मन्त्रि शर्माले यसैलाई मध्येनजर गर्दै सरकारले ‘पढ्दै कमाउदै’ कार्यक्रम ल्याएको भन्दै यो कार्यक्रम चालु शैक्षिक सत्रबाटै लागू हुने जानकारी दिए । यस्तै आगामी शैक्षिक सत्रदेखि डिजिटल लर्निङ्ग सेन्टरहरु स्थापना गरी नयाँ शैलीमा अध्ययन अध्यापनसमेत गराईने मन्त्री शर्माले बताए ।
सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले आर्थिक राहत, दीर्घ रोगीहरुलाई मासिक पाँच हजारका दरले उपचार खर्च, घाइते अपाङ्गता भएकाहरुलाई उपचार र जीवन निर्वाह भत्ता, शहीद परिवारहरुलाई मासिक तीन हजारका दरले जिवनवृत्ति, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरु ल्याएकोले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।