म्याग्दी । म्याग्दीका पर्यटकीयस्थलमा पछिल्लो समय धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पर्यटकीयस्थलको प्रचारप्रसारले तीव्रता पाएसँगै पर्यटक आगमन पनि बढ्दै गएको छ । बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौरपछै र सिङ्गा तातोपानी, मालिका गाउँपालिकाको देविस्थान, मङ्गला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायत पर्यटकीयस्थलमा पूर्वाधार निर्माण भइरहेको छ । पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकास भएको मालिका गाउँपालिका-५ देवीस्थानस्थित गाईखर्क ताल पुग्ने सडक निर्माण भएको छ ।
वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित दुई लाख र स्थानीयवासीको ५० हजार बराबरको श्रमदानमा उक्त सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिनुभयो । देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७५० मिटर सडक निर्माण गरिएको छ । पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको सो तालको पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष पिपला बुढाथोकी मगरले बताउनुभयो ।
ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयले बजेट विनियोजन गरी मन्दिर निर्माण थालेको छ । गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको अध्यक्ष श्रीप्रसाद रोका मगरको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुई होमस्टे सञ्चालन गरिएको छ ।
बेनी नगरपालिका-२ ज्यामरुककोटस्थित ऐतिहासिकस्थल खड्गभवानी कोत परिसरलाई समेत पर्यटकीयस्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् । भू-तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको १४ लाख ९९ हजार तथा उपभोक्ताको रु तीन लाख ६५ हजार बराबारको श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणपछि कोतमन्दिर पुग्न सहज भएको छ ।
चालू आवमा भू-तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गतवर्ष पर्यटन बोर्डको बजेटबाट ५६ मिटर र बेनी नगरपालिकाको बजेटमा ७६ मिटर पदमार्ग निर्माण गरिएको थियो । ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो । मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनलाई गलेश्वरहुँदै ज्यामरुककोत र यहाँदेखि बागलुङको पञ्चकोट पुर्याउन सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताइएको छ ।
खड्ग भवानीकोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेनलगायत हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका विभिन्न स्थल, गलेश्वर, पञ्चकोट, बेनी, पर्वतको कुश्मा, कालीगण्डकीको नागबेलीसहितको दृश्यावलोकन गर्न सकिन्छ ।-रासस