Skip to content
LAXMI SUNRISE BANK

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि, पर्यटन व्यवसायी हर्षित

अर्थ सरोकार

लमजुङ । चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । दोस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल हुँदा पर्यटन व्यवसायी हर्षित हुन थालेका छन् ।

केही महिनादेखि दुई/चार जनाबाट सुरु हुँदै २५/३० जनासम्म आउन थालेका पर्यटक कात्तिकबाट दैनिक दुई हाराहारीमा पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ । विदेशी पर्यटक ४० देखि ५० र आन्तरिक पर्यटक १५० देखि २०० जनाको हाराहारीमा पर्यटक पदमार्गमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि पर्यटकको सेवामा व्यस्त बन्दै राम्रो आम्दानी गरिरहेका छन्, चिसो समय हुँदासमेत पर्यटक आगमन भइरहेको छ ।”

कोरोना प्रभावित बनेको यहाँ यतिबेला पर्यटकको चहलपहलले केही पैसा भने पनि दैनिक आम्दानी भइरहेको मस्र्याङ्दी गाउँपालिका –४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्नसमेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि यतिबेला दैनिक १०/१५ हजार आम्दानी हुँदा धेरै खुसी भएको छु ।”

यस पदमार्ग आसपासको व्यवसाय पर्यटक आगमनले फस्टाइरहेको छ । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककैभरमा जीवन चलाउँदै आएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीति रिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास हुँदै मुस्ताङ र पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ ।

अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहरमा रहेको छ । यसपदमार्गका लागि आउने पर्यटकले गर्दा बेँसीशहर बजारका होटलसमेत भरिभराउन हुने गरेका छन् ।-रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK