काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भुटेर राखेको बदाम बिक्री गर्दै महोत्तरीका व्यापारीदेखी सडक कालोपत्रे गर्दै शुक्लाफाँटाका कामदारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित रङ्गशाला अगाडि बिक्रीका लागि व्यापारीले भुटेर राखेको बदाम । जाडोयाममा भुटेको बताम बढी बिक्री हुने व्यापारी बताउँछन् ।
शुक्लाफाँटा नगरपालिका-३ मा सडक कालोपत्रेका लागि रोलिङ्ग गरिँदै । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दुई किलोमिटर सडक कालोपत्रेको कार्य भइरहेको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटस्थित पुन्यमाता खोलामा रहेको झोलुङ्गे पुल मर्मत गरिँदै कामदार । मकर मेला नजिकिँदै गर्दा सो स्थानमा दर्शनार्थीलाई आवतजावत गर्नका लागि आवश्यक पूर्वाधारसमेत निर्माणको कामलाई तीव्रता दिइएको छ ।
सव डिभिजन वन कार्यालय ताप्लेजुङको नर्सरी बगानमा हुर्कंदै गरेको तेज पताको बिरुवा ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रभु बैंकमा सामाजिक सुरक्षा भत्ता लिन बिहान ८ बजेदेखि लाइनमा बसेका नागरिक । भत्ता दिने कार्य गाउँ टोल र वडा कार्यालयबाट नदिई बैंकबाट दिन थालेपछि हामीलाई असुविधा भएको उहाँहरु बताउनुहुन्छ ।
मादी नदीमा जलयात्रामा रमाउँदै आन्तरिक पर्यटक ।