महोत्तरी । आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा खुशीयाली छाएको छ । प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वासमा खुशी छाएको हो ।
बर्दिवास-२ को हङकङडाँडामा आइतबार शिलान्यास भएसँगै सबस्टेसन निर्माणको काम अघि बढेको छ । “हाम्रै बस्तीमा सबस्टेशन निर्माणको काम अघि बढेको छ”, बर्दिवास नगरपालिका-२ का वडा सदस्य एकबहादुर भुजेलले भन्नुभयो, “पहिलो कुरा त हाम्रै बस्तीमा यति ठूलो परियोजनाको काम थालिएको खुशी छ, अर्को यो निर्माण सम्पन्न भएपछि विद्युत् कट्ने समस्या नपर्ने आश छ ।” एकबहादुरजस्तै हङकङ बस्तीका क्षेत्रबहादुर भुजेलले पनि सबस्टेशन निर्माण थालिएपछि आफ्नो बस्तीमा खास काम काम हुँदैछ भन्ने लागेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले प्रदेशका सबै जिल्लाका विद्युत् उपभोक्तालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सबस्टेशन निर्माण थालिएको जनाएको छ । विद्युत् सेवामा सबैको पहुँचलाई प्रभावकारी बनाउन र अत्याधुनिक वितरण प्रणाली व्यवस्थित गर्न सबस्टेशन बनाउन लागिएको जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो ।
“ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत सबस्टेशन निर्माणको काम थालिएको हो”, ठाकुरले भन्नुभयो, “प्रदेशभरिमै यो सबस्टेशनले प्रभावकारी सेवा प्रवाह गर्नेछ ।” यो आयोजनाअन्तर्गत प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीको सुदृढीकरण, पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिने लक्ष्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३÷११ केभी क्षमताका १० सबस्टेशन निर्माण गरिने आयोजना संयोजक बोधराज ढकालको भनाइ छ । यससँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिने प्राधिकरणले जनाएको छ ।
सबस्टेशनको निर्माणलाई वरिपरिका गृहिणी भरोसामन्द भएर नियालिरहेका छन् । “विद्युत् नियमित नहुँदा सबैभन्दा बढी मर्कामा हामी गृहिणी पर्छौँ”, बर्दिबास-२ बुद्धचोककी गृहिणी गायत्री आचार्य भन्नुहुन्छ, “रातबिरात विद्युत् कट्दा घरका काम सक्न समस्या हुन्छ, तर अब सबस्टेशन निर्माण सम्पन्न भएर सेवा थालिएपछि यस्तो समस्या नहुने सुन्दैछौँ, हामी यो कुराले उत्साहित छौँ ।”
हालसम्म प्रदेश २ का महोत्तरीसहित धनुषा, सर्लाही, सिरहा, रौतहट, सप्तरी, बारा र पर्सासहितका आठवटै जिल्लाका कतिपय स्थानमा धेरै पुराना र जीर्ण संरचनामार्फत विद्युत् वितरण भएका ठाउँमा अब नयाँ संरचना विकास गरेर सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख ठाकुरको भनाइ छ । विद्युत् वितरण लाइनको स्तरीयता, कृषि र औद्योगिक लाइनको थप क्षमता विस्तारको पक्ष सुदृढ गर्दै वितरण प्रणालीलाई आमूल परिवर्तन गर्न लागिएको ठाकुरले बताउनुभयो ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको आयोजनाका पाँच चरण छन् । यी पाँचै चरणका निर्माण कार्यलाई सँगसँगै अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माण ठेक्का बन्दोबस्त भएको करिब चार अर्ब लागतको यो निर्माणकार्य दुई वर्ष छ महिनाभित्र सम्पन्न हुने उल्लेख छ । निर्माण ठेक्का लिएको कम्पनी टाटा प्रोजेक्टका प्रबन्धक सन्दीप कुमारले निर्धारित समयभित्रै काम सम्पन्न हुने बताउनुभएको छ । आयोजना निर्माण तथा कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एशियाली विकास बैंकमार्फत उपलब्ध भएको प्राधिकरणले जनाएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्