काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै कञ्चनपुरका स्थानीयदेखी प्याराग्लाइडिङमा रम्दै पोखराका पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका-३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्र्तगत जैविक तटबन्ध निर्मार्ण भइरहेको छ ।
पोखरा महानगरपालिका-१८, मेथलाङबाट देखिएको माछापुच्छ्रेको काखमा प्याराग्लाइडिङमा रम्दै पर्यटक ।
तनहुँको व्यास नगरपालिका-१३, कुकुरढुङ्गे खिरखादी मोटरमार्ग निर्माणका लागि ट्र्याक खोलिँदै । वडा कार्यालयको सहयोग र स्थानीयवासीको सक्रियतामा बाटो निर्माण शुरु भएको हो ।
बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका छन् ।
पोखरा महानगरद्वारा पोखराको मुख्य बजारक्षेत्र महेन्द्रपुलमा अस्फाल्ड प्रविधिद्धारा कालोपत्रे गरिँदै ।
हुम्ला, जाजरकोट, मुगु र डोल्पालगायत जिल्लामा ढुवानी गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेत गोदाममा राखिएको चामल । सुर्खेतमा राखिएको ४० हजार ७०० क्वीन्टल चामल समयमै ढुवानी नगर्दा खाद्यान्न अभाव भएको जिल्लामा समस्या हुँदै आएको छ ।