म्याग्दी । म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिराले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् ।
गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो । संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको घरमा छन् ।
बाढीले विद्युत्गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो । बाढीले विद्युत्गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन् । विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।
गाउँपालिकाको ५० लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो । बाढीले एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले १० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । दुई महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उहाँको भनाइ छ । रासस