काठमाडौं । लुम्बिनी विकास बैंकको वार्षिक साधारणसभा आज पुस ९ गते (आज) बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुने भएको छ । सभामा बैंकले १३.६८% लाभांश प्रस्ताव पेश गर्नेछ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्न लागेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने भएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २७ गते बुक क्लोज गरिसकेको छ । मंसिर २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस्तै, बोनस सेयरपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।