काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै दाङका किसानदेखी धुलाम्य सडकमा आवतजावत गर्न बाध्य कपिलवस्तुका सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दाङको शान्तिनगर गाउँपालिका– १ मा खेतुराम चौधरीले गरिएको व्यावसायिक बाख्रापालन । व्यवसायीले बाख्रापालनबाट मनग्य आम्दानी गर्ने गरिएको छ ।
कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडक चारलेन निर्माणका क्रममा सडक धुलाम्य हुँदा आवतजावतमा समस्या । सडकबाट उडेको धुलोले छेउछाउका घरधनी र व्यापारी तथा बटुवालाई असहज भएको छ ।
सडक निर्माण गर्न रुकुम–पश्चिम आठबीसकोट नगरपालिका –३ बाट हेलिकोप्टरमा डोजर राखेर वडा नम्बर –१ तर्फ लगिँदै ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण गरिँदै । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको बाँध, विद्यु त्गृह र सुरुङ निर्माण तीव्र रुपमा अघि बढेको छ ।
शुक्लाफाँटा नगरपालिका–९ मा नगरपालिकाले गौशाला निर्माण गरी राखेको चौपायालाई खुवाउन गरिएको पानीको व्यवस्थापन । नगर क्षेत्रमा छाडा रुपमा छाडिएका चौपायालाई नगरपालिकाले गौशाला निर्माण गरी व्यवस्थापन गरेको हो ।
दाङको घोराही–८, दुन्द्राका किसानले व्यावसायिक रुपमा गरेको काउली खेती ।
चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा जीप सफारी गर्दै विदेशी पर्यटक । दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघलगायतका जनावर अवलोकनका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमा नै प्रख्यात छ ।