Skip to content
LAXMI SUNRISE BANK

भिजिट भिसामा विकृति र विसंगति बढेपछि कडाइ गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

अर्थ सरोकार

काठमाडौँ । भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताउनुभयो । विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उहाँले विदेश जान नै सहज बनाउनुपर्ने बताउनुभयो । विदेश जान सहज नहुँदा विभिन्न खालका अपराधिक घट्ना घट्ने गरेको उहाँको भनाई छ । नेपाली कामदारहरुलाई आफुले गर्ने कामको बारेमा पुर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘विभिन्न चोर बाटो बाट जाने गरेको यो भिजिट भिसाको नाममा वा अन्य भिसाको नाममा जाने र कानूनी व्यवस्थापन राम्रो सँग नभएको कारणबाट नेपाली कामदारहरुले दुःख पाउने अवस्था रहेको मैले महशुस गरें । त्यसैले यसलाई समितिको निर्देशन र विद्यमान कानूनहरुको बिचमा एउटा तारतम्य मिलाएर हामीले सहज रुपले अगाडी कसरी बढाउने त्यतापट्टी सबै पक्ष मिलेर सहज गर्नुपर्छ भन्ने मेरो धारणा छ । सहज नगरिदाको अवस्थामा विभिन्न किसिमले अपराधिक घटनाहरु घट्ने गरेको र नेपालीहरुले दुःख पाउने रहेछ । नेपाली कामदार कुन काममा जाने हो, त्यसको पूर्ण जानकारी हुनुपर्ने र त्यो विषयमा पोख्त तालिमको व्यवस्थापन गरेर स्किल मेनपावरको रुपमा मात्रै पठाउने व्यवस्था गरौँ । त्यसका लागि कहाँ कहाँ कानून संशोधन गर्नुपर्छ, ऐन, नियम तर्जुमा गर्नुपर्छ त्यो गरुम् ।’
सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राख्नुभयो । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उहाँको भनाई छ । विदेश पुगेका नेपाली कामदारहरु दुतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उहाँले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो नागरिक योग्य भएर नै जानु वेश हुन्छ । त्यसको लागि सरकारले के के गरिरहेको छ ? के के प्रशिक्षण दिइरहेको छ ? उनीहरुको भाषाको पनि अभाव हुन्छ । योग्य बनाएर पठाइदिए राम्रो हुन्छ । अप्ठ्यारोमा दूतावास, घरमा सम्पर्क गर्न पनि दिदैन भनेको सुनिन्छ । यो सबै कुराको ग्यारेन्टी हुनुप¥यो जुन ठाउँमा जानुहुन्छ घर, दूतावासमा सम्पर्क गर्न सकुन् ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताउनुभयो । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उहाँले बताउनुभयो । व्यवसायीक कामदारलाई विदेश पठाउन सक्नुपर्ने उहाँले बताउनुभयो । मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘क्षमतावान कामदार पठाउन नसक्दाखेरी हाम्रो वैदेशिक रोजगार व्यवसाय धरासयी भयो । विप्रेषण धेरै घटीरहेको छ । हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारीलाई नै हामीले प्रश्रय दिनुपर्छ । र क्यापेवल मेनपावर, प्रोफेसनल मेनपावर पठाउनुपर्छ । डाक्टर, इञ्जिनियर, नर्सहरु तयार गरेर, सिकर्मी, डकर्मीहरुलाई तालिम दिएर पठाउनुपर्छ । सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका छौँ । भिजिट भिसा एकदमै गैर कानूनी हिसाबमा गयो । भिजिट भिसमा देखिएको विकृति र विसंगतिलाई हटाउनुपर्ने देखियो ।’
सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यस सँग सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरु बसेर देखिएका विकृति र विसंगती हटाउनुपर्ने बताउनुभयो । उहाँले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्ने बताउनुभयो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK