काठमाडौँ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको छ । शुक्रबार नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको हो । उहाँले हाल छानबिनका क्रममा रहनुभएका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । मन्त्री आलेले सिईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताउनु भयो । उहाँले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।
मन्त्री आलेले भन्नुभयो, ‘अब यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो साँढे कस्ते हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ । भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ । त्यहाँ बुढापाका, बालबालिकाहरु आउनुभएको छ । त्यतिबेला बधाई दिन आउनुभएको छ । अनि मन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन । क्लाइमेक्स मिल्न त मैले जाँढड खने हुनुपर्छ । यहाँबाट म लण्डनको प्रोग्राममा गएँ । म जाँदै जाँदिन भन्दा जाउँ हजुर भने । त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भने । जबरजस्ती गरेर लगे । त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ । भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो । त्यो फोरममा बोल्ने इच्छा थियो । तर त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू । त्यहाँ जान्छु १७ देश जतिका मन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु । एउटा देशको मन्त्री । यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो । अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ ? सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्तो साँढेलाई ल्याएर सिईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’
मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताउनु भयो । उहाँले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बतउनु भयो । मन्त्री आलेले भन्नुभयो, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन् । यस्ता यस्त विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ । म आईसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डिजीसाब आउनु भएको थियो । उहाँलाई पनि थाहा थिएन । टेण्डर एउटा अनाउन्स भयो । त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने । फस्टमा टेण्डर निस्क्यो, एएटाले टेण्डर बिट गर्छ उसले ठेक्का पायो । दोस्रो वर्ष टेण्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने । तेस्रो वर्ष पनि उसैले । मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ । तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो । जम्मै सेटिङको काम छ भन्छन् । त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ । त्यहीँ भित्र म नाम लिन्न । होइन हजुर यो पहिलाकै चलन हो । पहिला त काले काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले ।’
मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनु भयो ।
मन्त्री आलेले भन्नुभयो, ‘म त्यो डब्लूटिएमको प्रोग्राममा जाँदा सबैभन्दा सानो स्टल हाम्रोतिर । दुई चारवटा कुखुरा अटाउने खालको । झन गैँडा भएपछि अट्न पनि गाह्रो । फोटो सेशन गरौँ भनेर गरेका थियौँ। अट्न पनि गाह्रो छ । मैले निमित्त कार्यकारी सिईओलाई सोधेको छु कति खर्च भयो भनेर, इभन खानासमेत मैले आफ्नो पकेटबाट निकालेर खाएको छु । बस्न दूतावासमा म, सचिवज्यूलगायत बसेका छौँ । मेरो होटलमा एक रुपैयाँ खर्च भएको छैन । खानामा एक रुपैयाँ खर्च भएको छैन । ८० लाख बिल आयो भन्नुभएको छ ।यो पनि एउटा कारबाहीको विषय बन्छ । ८० लाख के मा खर्च भयो ? मेरो टिकटको कुरा त पर्यटन मन्त्रालयबाट भएको छ । मेरो दायित्व त यहाँ जोडिएको छैन । के मा गर्नुभयो तपाईले ८० लाख खर्च ? त्यसको छानबिन गर्नुहोस् । कानूनि दायरामा ल्याउनुस् । कडा भन्दा कडा कारबाही गर्नुहोस् ।’
मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो ।