काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दाउराको जोहो गर्दै ताप्लेजुङका युवादेखी यात्रुको खोजीमा सौराहाका चालकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
घर नजिकैको जङ्गलबाट दाउरा ओसार्दै ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका युवा । यहाँका स्थानीयवासी वर्षभरिलाई पुग्ने गरी हिउँदको समयमा दाउराको जोहो गर्ने गर्छन् ।
पर्यटकीय क्षेत्र चितवनको सौराहामा यात्रुको खोजीमा रहेका रहेका टाँगा चालक । सौराहा घुम्न आउने पर्यटकहरु टाँगामासमेत घुम्ने गर्छन् ।
नारायणी नदीमा परम्परागत काठे डुङ्गा चलाउँदै बोटे समुदायका युवाहरु । नारायणी नदी किनारमा बसोबास गर्ने बोटेसमुदायले घाँस, दाउरा बोक्न तथा नदीमा माछा मार्नका लागि डुङ्गा प्रयोग गर्ने गर्दछन् ।
बागलुङको गलकोट नगरपालिका–२ तोरीखोलामा रहेको धर्म भकारीबाट अन्न झिक्दै स्थानीय महिला । गाउँमा परम्परागत प्रचलनको रुपमा रहेको धर्म भकारीमा गाउँले मिलेर अन्न जम्मा गर्छन् र जसलाई आवश्यक पर्छ लगेर पछि फिर्ता गर्ने गर्दछन् ।
पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरुलाई पूजा सामाग्री बेच्न बसेकी महिला ग्राहक नआएको समयमा सालको पातबाट दुना टपरी गाँस्दै ।
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका होटल व्यवसायी हिउँ पगालेर पानी तयार गर्दै । हिमपातसँगै अत्याधिक चिसो बढेकाले पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि पानीका लागि हिउँ पगाल्नु परेको हो ।