- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जीविकोपार्जनका लागि गिट्टी कुट्न बाध्य डोटीका विपन्न महिलादेखि पर्यटक लोभ्याउने पर्वतको मोदी गाउँपालिका–१, नमूना गाउँ भुक देउरालीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जीविकोपार्जनका लागि डोटी जोरायल गाउँपालिका–२ बुडरका विपन्न परिवारका महिला गिट्टी कुटदै ।
पर्वतको मोदी गाउँपालिका–१, नमूना गाउँ भुक देउराली ।
गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुल्ला मूर्तिकला सङ्ग्रहालयमा हालै प्रतिस्थापन गरिएको गौतम बुद्धको मूर्ति । उक्त मूर्ति गत वर्ष भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा मूर्तिकार बुद्ध चौधरीले कुँद्नुभएको हो ।
बागलुङ नगरपालिका–६, पञ्चकोटमा निर्माण गरिएको हनुमानको मूर्तिको तस्बिर क्यामारामा कैद गर्दै आन्तरिक पर्यटक । मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पञ्चकोट उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।
बागलुङ नगरपालिका–६ अवस्थित पर्यटकीयस्थल पञ्चकोट घुम्न पुगेका आन्तरिक पर्यटक हनुमानको मूर्तिसँग तस्बिर खिचाउँदै ।
वीरगञ्जस्थित मानवसेवा आश्रममा सडकबाट उद्धार गरी ल्याइएका मोहम्मद रजाक मियाको कपाल काटेर सरसफाई गर्दै काव्य पोखरेल ।
अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा लमजुङ बेँसीशहर नगरपालिकामा शुक्रबार पदयात्रा गरिँदै । रोटरी क्लब अफ लमजुङको आयोजना तथा जेसिज लमजुङको समन्वयमा कार्यक्रम गरिएको छ ।
झापाको कमल गाउँपालिका–७, किसानको बारीमा फूलेको तोरी । किसान पछिल्लो समय तेलहन बालीतर्फ आर्कषित हुँदै आएका छन् ।