काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले फड्के पुलबाट कालीगण्डकी तर्दै स्याङ्जाका नागरिकदेखि तरकारी बिक्री गरी घर फर्किदै कञ्चनपुरका महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बनाइएको बाँसको फड्के । यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला बजारमा तरकारी बिक्री गरी घर फर्किदै । किसानले मौसम अनुसारको तरकारी बजारमा बिक्री गरेर आम्दानी गर्दै आएका छन् ।
मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी ।
चितवन राष्ट्रिय निकुञ्जअन्र्तगत पर्ने नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनभित्र गैँडाको तस्वीर मोबाइलमा कैद गर्दै आन्तरिक पर्यटक ।
ताप्लेजुङको फुङ्लिङ —६, फूलपातेडाँडामा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा सुकाएर राखेको हाते कागज ।
कोटेश्वरको ६ लेन सडकखण्ड अन्तर्गत सर्भिस ट्रयाकमा सडक कालोपत्र गर्दै सडक विभागका मजदुर । यो सडक कालोपत्र भएपछि यहाँ हुने गाडी जामको समस्या कम हुनेछ ।