पाल्पा । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।
कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बंैक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । तीमध्ये महिला व्यवसायीलाई चार प्रतिशत र पुरुष व्यवसायीलाई पाँच प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ रेडा, हेफर प्रोजेक्ट नेपालको सहयोगमा कृषि तथा पशुपालन गरेका उद्यमीलाई सहुलियत ब्याजदरको कर्जाका लागि नगरपालिकाद्वारा सिफारिस भई आएकामध्ये बैंकले तीनदेखि नौ लाखसम्म कर्जा उपलब्ध गराएको बैंकका वीरबहादुर सारुले बताउनुभयो ।
सस्तो ब्याजदरका कर्जा पाएपछि किसानहरु खुसी भएका छन् । तानसेन बौघागुवाका लक्ष्मण थापाले रु नौ लाख सहुलियत ब्याजदरमा कर्जा पाएपछि खुसी बनेका छन् । ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसानहरुलाई यति धेरै मात्रामा कर्जा पाउँदा थप हौसला मिलेको उहाँको भनाइ छ । “ऋण लिएर भए पनि लगानी थपौं, व्यवसाय बढाऔं भन्ने थियो । तर, महँगो ब्याज र झन्झटिलो प्रक्रियाले सकिरहेका थिएनौं”, उहाँले भन्नुभयो, “अब नगरपालिकामै सहुलियत कर्जा पाउने भएपछि उत्साहित भएका छौं ।”
तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युवाहरुलाई व्यावसायिक उत्पादनमा लगाउन सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्न थालिएको बताउनुभयो । युवाहरुलाई आर्थिक रुपले सम्पन्न बनाउन कृषि र पशुपालनका क्षेत्रमा थप आकर्षित गर्न खाँचो रहेको उहाँले बताउनुभयो ।
“उत्पादकत्व बढाउन र बजारीकरणमा पालिकाले लगानी तथा प्रोत्साहन गरिरहेको छ”, उहाँले भन्नुभयो, “व्यवसायिक कृषि तथा पशुपालनका लागि पालिकाले तालिम तथा अनुदान दिने, औजार उपलब्ध गराउने, व्यापारीकरणका लागि कृषि यान्त्रिकीरणमा जोड दिनेलगायत कार्यक्रम गरेर कृषिमा धेरै जनतालाई जोडेको तानसेनले अब किसानलाई सहुलियतमा ऋण पनि उपलब्ध गराएको छ ।”
ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले युवाहरुलाई व्यावसायिक पशुपालन तथा कृषि उत्पादनमार्फत स्वरोजगार बनाउन थालिएको बताउनुभयो । उहाँले स्वदेशमा युवालाई टिकाइ राखी कृषि पशुपालनमार्फत जिल्ला मासु तथा तरकारीमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो । पूँजीको अभावले युवाहरु उद्यमी बन्न नसकेको भन्दै नगरपालिका जमानी बसेर बिना धितो सहुलियतपूर्ण कर्जा वितरण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
नगरपालिकाभित्र व्यवसायिकरुपमा अग्रसर हुन चाहने महिला, युवा, अपाङ्गता भएका व्यक्ति, गरीब, दलित, आदिवासी जनजातिलाई लक्षित गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको नगरपालिकाले जनाएको छ ।
ऋण लिएर व्यवसाय गर्छुभन्दा पनि कागज लिएर बैंक दौडनु पर्ने, प्रक्रिया नै जटिल भएकाले किसानकै पहुँच नपुग्ने अवस्था अब यहाँ अन्त्य भएको नगरप्रमुख शाहीले बताउनुभयो । “तपाईंहरुले उत्पादन गर्नुस्, हामी सहुलियत दिन्छौं । तपाईंले गरेको उत्पादन बजारसम्म पुर्याउने काम पनि नगरपालिकाले गर्छ”, उहाँले भन्नुभयो, “व्यवसायिक कृषि तथा पशु पालन गर्न चाहने किसानलाई नगरपालिका र बैंकको समन्वयमा कर्जा उपलब्ध गराइने छ ।”-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्