काठमाडौँ । काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो ।
बुधबार याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले जानकारी दिनुभयो । नेपाल सरकारले विसं २०४८ पुस २२ गते उक्त होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो ।
नेपाल सरकारलाई तिर्नु, बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आव २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी रु ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुनअनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले बताउनुभयो ।
पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहयोग गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन समेत अनुरोध गरेको छ ।
बाँकी बक्यौता दाखिला गर्न गत कात्तिक ७ मा ३५ दिने र मिति २०७८ पुस २७ गते १५ दिने अवधि तोकी पत्राचार गरिएको थियो । उक्त रकम दाखिला नगरेको देखिएकाले यही माघ १९ गतेको गोरखापत्रमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको हो ।
विभागले बुधबारै उक्त होटललाई होटल तथा क्यासिनो सञ्चालन नगर्न नगराउन सूचना पनि पठाइएको जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्